चक्रवात ‘मुरसु’ को जोखिम बढ्यो, चेन्नई र तिरुवल्लुरमा भारी वर्षाको अरेन्ज अलर्ट जारी
सांकेतिक


चेन्नई, ०२ नोभेम्बर (हि.स.)। बंगालको खाडीमा चक्रवात ‘मुरसु’ विकसित भएपछि तमिलनाडुका चेन्नई र तिरुवल्लुर जिल्लामा अत्यधिक भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै अरेन्ज अलर्ट जारी गरिएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले चक्रवातको प्रभावलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। यसैबीच, राज्य आपदा प्रबन्धन विभागले सुरक्षाका लागि विभिन्न सावधानीसम्बन्धी निर्देशन जारी गरेको छ।

मौसम विभागका अनुसार, दक्षिण-पश्चिम तथा त्यससँग जोडिएको दक्षिण-पूर्वी बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय क्षेत्र चक्रवाती आँधीमा परिणत भएको छ। हाल जारी उत्तर-पूर्वी मनसुनको यस मौसममा यो दोस्रो चक्रवात हो, जसलाई ‘मुरसु’ नाम दिइएको छ। हाल चक्रवात चेन्नईबाट करिब ५६० किलोमिटर पूर्व-दक्षिणपूर्व तथा आन्ध्र प्रदेशको विशाखापट्टनमबाट लगभग ६६० किलोमिटर दक्षिणपूर्वमा केन्द्रित रहेको छ।

तमिलनाडु आपदा जोखिम न्यूनीकरण एजेन्सीका राजस्व प्रशासन तथा आपदा प्रबन्धन आयुक्त चन्द्र मोहनले चक्रवातको निरन्तर निगरानी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, चक्रवात दक्षिण आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ। आगामी केही दिनसम्म उत्तरी तमिलनाडुमा भारी वर्षा, तीव्र हावाहुरी तथा समुद्रमा अग्ला छाल उठ्ने सम्भावना रहेको छ।

प्रशासनले सर्वसाधारणलाई समुद्री तट तथा तटीय सडकबाट टाढा रहन आग्रह गरेको छ। साथै, पानी जमेको क्षेत्र तथा सडकका भित्री मार्गहरूमा आवतजावत नगर्न अनुरोध गरिएको छ। घरमा पर्याप्त पिउने पानी, आवश्यक औषधि, टर्च, पावर ब्यांक तथा पूर्ण रूपमा चार्ज गरिएको मोबाइल फोन तयारी अवस्थामा राख्न सुझाउ दिइएको छ।

यसैगरी, घरका छत तथा बार्दलीमा राखिएका खुल्ला र हलुका सामान सुरक्षित राख्न तथा पानी निकास हुने नालीहरूको सरसफाइ सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

प्रशासनले मौसमसम्बन्धी जानकारीका लागि भारतीय मौसम विज्ञान विभाग, तमिलनाडु आपदा जोखिम न्यूनीकरण एजेन्सी तथा जिल्ला प्रशासनका आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। आपतकालीन अवस्थाका लागि राज्यस्तरीय हेल्पलाइन नम्बर १०७० र जिल्लास्तरीय हेल्पलाइन नम्बर १०७७ सार्वजनिक गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई नआत्तिई सतर्क रहन तथा जारी गरिएका सुरक्षा निर्देशनहरूको पालना गर्न अपील गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande