
गान्तोक, 20 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले प्रथम महिला लक्ष्मी गौतमका साथ 19 नोभेम्बरमा पाकिम जिल्लाको भ्रमण गरी भारतको पहिलो ‘डिजिटल नोम्याड गाउँ’ याक्तेनको अवलोकन गरेका छन्।
याक्तेन पुग्दा राज्यपाल र प्रथम महिलालाई स्थानीय बासिन्दाहरूले परम्परागत रीतिरिवाजअनुसार स्वागत गरेका थिए। भ्रमणका क्रममा पाकिमकी जिल्लापाल परी बिश्नोई, अतिरिक्त जिल्लापाल पुल्कित, अतिरिक्त जिल्लापाल (विकास) तथा प्रशासनका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा ‘नोम्याड सिक्किम’ का प्रमुख नमन जैनले राज्यपाललाई यस पहलको अवधारणा, उद्देश्य तथा हालसम्म हासिल गरिएका उपलब्धिबारे विस्तृत जानकारी गराए। राज्यपालले स्थानीय बासिन्दा, होमस्टे सञ्चालक तथा गाउँमा बसेर काम गरिरहेका डिजिटल नोम्याडहरूसँग अन्तरक्रिया गर्दै ग्रामीण जीवनशैली र आधुनिक कार्यसंस्कृतिबीचको समन्वयबारे जानकारी लिए।
उल्लेखनीय छ, ‘नोम्याड सिक्किम’ पहल पाकिम जिल्ला प्रशासन र गैरसरकारी संस्था ‘सर्वहिताए’ को संयुक्त प्रयासमा शुरु गरिएको हो। निर्बाध इन्टरनेट सुविधा र विद्युत् ब्याकअपको व्यवस्थासहित सञ्चालित यस पहलले अनलाइन माध्यमबाट जहाँसुकै बसेर काम गर्न सक्ने पेसाकर्मीहरूलाई सिक्किमको शान्त र स्वच्छ वातावरणमा बसेर काम गर्ने अवसर प्रदान गर्दछ। यसले पर्यटकका रूपमा गाउँमा बस्न आउनेहरूलाई स्थानीय दैनिक जीवनशैलीको हिस्सा बन्ने अवसरसमेत प्रदान गरेको छ।
जिल्ला प्रशासन र ‘सर्वहिताए’ को यस नवीन पहलको प्रशंसा गर्दै राज्यपाल गौतमले पर्यावरणमैत्री जीवनशैलीको सराहना गरे। उनले राज्यका दुर्गम क्षेत्रहरूमा रहेका सम्भावनालाई उपयोग गर्दै पर्यटन तथा जीविकोपार्जनका नयाँ अवसर सिर्जना गर्नु प्रशंसनीय कार्य भएको बताए।
डिजिटल सम्पर्क सञ्जाल र ग्रामीण पर्यटनको यस संयोजनले स्थानीय युवा तथा होमस्टे सञ्चालकहरूका लागि वर्षभरि नै आयआर्जनका नयाँ अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै राज्यपालले यसले आत्मनिर्भरता र स्वावलम्बनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल