
गान्तोक, 20 नोभेम्बर (हि.स.)। गान्तोकस्थित पाल्जोर स्टेडियम परिसरको इन्डोर ब्याडमिन्टन हलमा जारी योनेक्स-सनराइज ४९औँ अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय राष्ट्रिय जुनियर ब्याडमिन्टन प्रतियोगिता २०२६ अन्तर्गत आज विभिन्न विधाका सेमिफाइनल खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक रूपमा सम्पन्न भए। फाइनलमा स्थान सुरक्षित गर्न देशका विभिन्न राज्य तथा क्षेत्रका युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे।
प्रतियोगिताको अन्तिम चरणमा प्रवेशसँगै खेलाडीहरूले आफ्नो कौशल, दृढता र खेलभावना प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चक खेलको अनुभव गराए। कार्यक्रममा सिक्किम सरकारका धर्म, जनस्वास्थ्य अभियांत्रिकी तथा जलस्रोत विभागका मन्त्री सोनाम लामा प्रमुख अतिथि थिए।
सम्बोधनका क्रममा मन्त्री लामाले राष्ट्रियस्तरको प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकोमा सिक्किम ब्याडमिन्टन संघ (बीएएस) लाई बधाई दिँदै यसलाई राज्यका लागि महत्त्वपूर्ण उपलब्धि तथा गौरवको विषय बताए। उनले संघलाई वर्तमान अवस्थामा पुर्याउन विगतका पदाधिकारीहरूले पुर्याएको योगदान र समर्पणको पनि प्रशंसा गरे।
राज्यभरि ब्याडमिन्टन खेललाई लोकप्रिय बनाउनुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले खेलकुदले विद्यार्थी तथा युवाहरूलाई शारीरिक सक्रियता, अनुशासन र प्रतिस्पर्धात्मक भावना अपनाउन प्रेरित गर्नुपर्ने बताए। मुख्यमन्त्रीको सिक्किमका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सफल भएको देख्ने परिकल्पनालाई उल्लेख गर्दै उनले युवा खेलाडीहरूलाई ठूलो सपना देख्न, आफ्नो क्षमतामा विश्वास गर्न र लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्न आह्वान गरे। उनले सेमिफाइनलसम्म पुग्न सफल सबै खेलाडीहरूलाई बधाई दिँदै उनीहरूको मेहनत, प्रतिबद्धता र खेलभावनाको प्रशंसा गरे।
कार्यक्रममा सिक्किम युवा मामिला विभागकी सचिव याङछेन डी. तामाङ, जलस्रोत विभागका सचिव सञ्जीव राई, विभागका वरिष्ठ अधिकारीहरू, सिक्किम फुटबल संघका अध्यक्ष मेन्ला इथेनपालगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल