
काठमाडौँ, २० नोभेम्बर (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह २२ देखि २३ नोभेम्बरसम्म भारतको दुईदिने राजकीय भ्रमणमा रहने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा दुवै देशबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगका विभिन्न विषयमा छलफल हुनेछ।
नेपाल सरकारद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, प्रधानमन्त्री शाह २२ नोभेम्बरमा नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछन्। उनीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन्।
भारतमा प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। यसबाहेक, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा औपचारिक दिवाभोजको समेत आयोजना गर्नेछन्। त्यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ।
विज्ञप्तिमा नेपाल र भारतबीच लामो समयदेखि सभ्यतागत सम्बन्ध, सांस्कृतिक समानता तथा गहिरो जनस्तरीय सम्पर्कमा आधारित मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरिएको छ। यस भ्रमणले दुवै देशबीचको व्यापक सहयोगात्मक साझेदारीको समीक्षा गर्नुका साथै भविष्यलाई ध्यानमा राखेर आपसी सहयोगलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने जनाइएको छ। यसको उद्देश्य दुवै देशका नागरिकलाई अधिकतम पारस्परिक लाभ पुर्याउनु रहेको छ।
प्रधानमन्त्री शाह २३ नोभेम्बरमा स्वदेश फर्कनेछन्।
हिन्दुस्थान समाचार / बिशाल