
काठमाडौँ, २० नोभेम्बर (हि.स.)। ठगी प्रकरणमा आरोपी नेपाल सरकारका पूर्व मुख्य सचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेका छन्। आफूविरुद्ध पक्राउ वारन्ट जारी हुनुअघि नै भारत फरार भएका पूर्व मुख्य सचिव अर्याललाई पक्राउ गरिएको हो।
नेपाल पुलिसको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोलीले भारतीय सुरक्षा निकायको सहयोगमा अर्याललाई नियन्त्रणमा लिएको हो। उनलाई आजै विमानमार्फत नेपाल ल्याइँदै गरेको बताइएको छ। सीआईबीका एक अधिकारीका अनुसार, दिल्लीबाट फर्काएपछि पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरिनेछ।
मलेसिया जाने नेपाली श्रमिकसँग सम्बन्धित प्रकरणमा करिब २ अरब रुपियाँको कथित हिनामिनाबारे भइरहेको अनुसन्धानका क्रममा तत्कालीन मुख्य सचिव अर्यालको समेत संलग्नता देखिएको बताइएको थियो। यही आधारमा अदालतबाट उनीविरुद्ध पक्राउ वारन्ट जारी गराइएको थियो।
यस प्रकरणमा यसअघि नै दुई पूर्व श्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन्। अदालतबाट पक्राउ वारन्ट जारी भएको तत्कालै अर्याल बिहीबार विमानमार्फत दिल्ली गएका थिए। सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीले पूर्व मुख्यसचिव पक्राउ परेको पुष्टि गरे पनि उनलाई भारतको कुन स्थानबाट पक्राउ गरिएको हो भन्नेबारे भने खुलाएकी छैनन्।
हिन्दुस्थान समाचार / बिशाल