
काठमाडौँ, २० नोभेम्बर (हि.स.)। नेपालमा गत एक वर्षको अवधिमा महँगी दरमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार, २०२६ अक्टोबरको अन्त्यसम्म वार्षिक उपभोक्ता मूल्यवृद्धि दर बढेर ६.३७ प्रतिशत पुगेको छ। एक वर्षअघि यही अवधिमा यस्तो दर १.४७ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको महँगी दर ८.०४ प्रतिशत र गैरखाद्य तथा सेवा क्षेत्रको महँगी दर ५.४६ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकाङ्कमा २.५४ प्रतिशतले गिरावट आएको थियो भने गैरखाद्य तथा सेवा क्षेत्रको मूल्य सूचकाङ्कमा ३.८० प्रतिशतले वृद्धि भएको थियो।
नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो तीन महिना (अगस्तदेखि अक्टोबरसम्म) को समसामयिक समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षको तेस्रो महिनामा औसत महँगी दर ६.२२ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा यस्तो दर १.६७ प्रतिशत थियो।
रिपोर्ट अनुसार, नेपालको कुल विदेशी मुद्रा भण्डार जुलाई २०२६ मा रहेको ३ हजार ८९७.६७ अरब रुपियाँबाट ६.८ प्रतिशतले बढेर अक्टोबर २०२६ मा ४ हजार १६१.१४ अरब रुपियाँ पुगेको छ। अमेरिकी डलरमा विदेशी मुद्रा भण्डार ८.२ प्रतिशतले बढेर २७.३९ अरब डलर पुगेको छ। २०२६ को मध्य जुलाईमा यस्तो भण्डार २५.३१ अरब डलर थियो।
कुल विदेशी मुद्रा भण्डारमध्ये नेपाल राष्ट्र ब्याङ्कसँग रहेको भण्डार ६.४ प्रतिशतले बढेर ३ हजार ६९५.२४ अरब रुपियाँ पुगेको छ। मध्य जुलाईमा यो रकम ३ हजार ४७३.१९ अरब रुपियाँ थियो।
त्यसैगरी, नेपाल राष्ट्र ब्याङ्कबाहेक ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग रहेको विदेशी मुद्रा भण्डार ९.८ प्रतिशतले बढेर ४६५.९ अरब रुपियॉं पुगेको छ। जुलाईमा यस्तो भण्डार ४२४.४८ अरब रुपियाँ थियो। अक्टोबर २०२६ सम्म कुल विदेशी मुद्रा भण्डारमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा नेपालको निर्यात ५७ प्रतिशतले बढेको छ भने आयातमा ३८.२ प्रतिशतले वृद्धि भएको छ। रिपोर्ट अनुसार, आर्थिक वर्ष २०२६/२७ को समीक्षा अवधिमा सरकारको कुल खर्च ३९६.२७ अरब रुपियाँ रहेको छ। यसमध्ये चालु खर्च २९१.६६ अरब रुपियाँ, पुँजीगत खर्च २८.४२ अरब रुपियाँ र वित्तीय व्यवस्थापन खर्च ७६.१९ अरब रुपियाँ रहेको छ।
यसै अवधिमा प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गरिने रकमसहित सरकारको कुल राजस्व सङ्कलन २९८.६१ अरब रुपियाँ रहेको छ। यसमध्ये कर राजस्व २७९.३५ अरब रुपियाँ र गैरकर राजस्व १९.२७ अरब रुपियाँ रहेको छ।
राष्ट्र ब्याङ्कको रिपोर्ट अनुसार, समीक्षा अवधिमा व्यापक मुद्रा आपूर्ति (एम२) मा ४.४ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यही अवधिमा यस्तो वृद्धि ३.२ प्रतिशत थियो। वार्षिक आधारमा अक्टोबर २०२६ सम्म व्यापक मुद्रा आपूर्तिमा १४.८ प्रतिशतले वृद्धि भएको छ।
ब्याङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेप २.८ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाह हुने कर्जामा ३.१ प्रतिशतले वृद्धि भएको छ। वार्षिक आधारमा ब्याङ्क निक्षेपमा १३.७ प्रतिशत र निजी क्षेत्रको कर्जामा ८.३ प्रतिशतले वृद्धि भएको छ।
अक्टोबर २०२६ मा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा यस्तो दर १.९१ प्रतिशत थियो। त्यसैगरी, ब्याङ्क तथा वित्तीय संस्थाहरूबीचको अन्तरब्याङ्क ब्याजदर समीक्षा महिनामा २.७५ प्रतिशत रहेको छ भने एक वर्षअघि यो दर २.५८ प्रतिशत थियो।
हिन्दुस्थान समाचार / बिशाल