नेपालमा डायलाइसिस फ्लुडको अभावले ४०० भन्दा बढी मिर्गौलाका बिरामीको उपचार प्रभावित
डायलसिस कराते हुए मरीज


काठमाडौं, २० नोभेम्बर (हि.स.)। नेपालमा पेरिटोनियल डायलाइसिस (पीडी) गराइरहेका ४०० भन्दा बढी मिर्गौलाका बिरामी आवश्यक डायलाइसिस फ्लुडको अभावका कारण उपचारलाई निरन्तरता दिन सङ्घर्ष गरिरहेका छन्। पेटमा क्याथेटर राखेर घरमै गरिने यस उपचार पद्धतिका लागि आवश्यक फ्लुड नियमित रूपमा उपलब्ध हुन नसक्दा बिरामीहरूको उपचार गम्भीर रूपमा प्रभावित भएको छ।

नेपालमा उक्त फ्लुड आपूर्ति गर्ने एकमात्र कम्पनीले विगत तीन महिनादेखि बिरामीलाई पर्याप्त मात्रामा नियमित आपूर्ति गर्न सकेको छैन। यसका कारण जीवनरक्षाका लागि पेरिटोनियल डायलाइसिसमा निर्भर बिरामीहरूले ठूलो कठिनाइ भोग्नुपरेको छ।

बिहीबार काठमाडौंको कालिमाटीस्थित फ्लुड वितरण केन्द्रमा २० जनाभन्दा बढी मिर्गौलाका बिरामी आवश्यक फ्लुड लिन पुगेका थिए। तीमध्ये ४५ वर्षीया किरण थापा पनि थिइन्। नियमित डायलाइसिस हुन नसक्दा उनको शरीर सुन्निएको छ भने सास फेर्न र बोल्नसमेत कठिनाइ भइरहेको छ।

सानेपामा बस्दै आएकी थापा विगत १२ वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित छिन्। शुरुमा अस्पतालमा उनको हेमोडायलाइसिस गरिँदै आएको थियो। तर, डायलाइसिसका लागि हातमा बनाइएको फिस्टुला बिग्रिएपछि र चिकित्सकहरूले अर्को उपयुक्त रक्तनली फेला पार्न नसकेपछि उनलाई पेरिटोनियल डायलाइसिस शुरु गरिएको थियो।

पीडीका कारण पटक-पटक अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भई घरमै उपचार गर्ने सुविधा उनलाई प्राप्त भएको थियो। यस प्रक्रियामा पेटमा राखिएको क्याथेटरमार्फत विशेष प्रकारको फ्लुड प्रवेश गराइन्छ, जसले शरीरबाट अनावश्यक पदार्थ तथा अतिरिक्त तरल पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। तर, अहिले फ्लुडको अभावले उनको उपचार कठिन बनेको छ।

थापाले आफ्ना खुट्टा सुन्निएको र सास फेर्नसमेत समस्या भइरहेको बताइन्। उनले भनिन्, “मेरा खुट्टा सुन्निएका छन्। राति सुत्दा शरीरमा जम्मा भएको तरल पदार्थ मुखसम्म आइपुगेजस्तो लाग्छ। मलाई सास फेर्न र बोल्नसमेत गाह्रो भइरहेको छ।”

थापालाई दिनमा चार पटक डायलाइसिस गर्नुपर्ने हुन्छ। तर, पर्याप्त फ्लुड उपलब्ध नहुँदा उनले दुईदेखि तीन दिनसम्म डायलाइसिस नगरी बस्नुपरेको छ। भावुक हुँदै उनले भनिन्, “विगत तीन महिनादेखि नियमित रूपमा फ्लुड पाउन समस्या भइरहेको छ। म हरेक दिन यहाँ आउँछु र एक-दुई झोला फ्लुडबाट जसोतसो काम चलाउँछु।”

थापाका लागि पुनः हेमोडायलाइसिस शुरु गर्नु पनि सहज छैन। चिकित्सकहरूले उनका हातमा नयाँ फिस्टुला बनाउन उपयुक्त रक्तनली फेला पार्न सकेका छैनन्। उनले भनिन्, “अब अर्को फिस्टुला बनाउने सम्भावना पनि छैन। यदि फ्लुड नै पाइनँ भने मैले के गर्ने? आज म यहाँ समस्या बुझ्न आएकी हुँ।”

थापा मात्रै यस समस्याबाट प्रभावित बिरामी होइनन्। पेरिटोनियल डायलाइसिस गराइरहेका ४०० भन्दा बढी बिरामीले यस्तै समस्या भोगिरहेका छन्।

दक्षिणकाली नगरपालिकाका ३५ वर्षीय अकबिर तामाङ पनि पीडीमा निर्भर छन्। उनले गत साता फ्लुडको अभावका कारण लगातार दुई दिनसम्म डायलाइसिस गर्न नपाएको बताए।

नियमित डायलाइसिस छुटेपछि उनको शरीर सुन्निनुका साथै सास फेर्न कठिनाइ भएको थियो र रक्तचापसमेत बढेको थियो। उनको अवस्था यति बिग्रिएको थियो कि घरमै अत्यन्त कमजोर भएका थिए। त्यस रातको अवस्था सम्झँदै उनले भने, “मलाई अब मेरो मृत्यु हुन्छ जस्तो लागेको थियो।”

उनले थपे, “राति करिब ८ वा ९ बजी मैले फ्लुड आपूर्ति गर्ने कार्यालयमा फोन गरेँ। अन्ततः उनीहरूले मलाई दुई झोला फ्लुड उपलब्ध गराए। त्यसपछि मात्रै मैले पुनः डायलाइसिस शुरु गर्न सकेँ।”

तीन वर्षअघि मिर्गौलाको रोग पत्ता लागेदेखि नै तामाङले डायलाइसिस गराउँदै आएका छन्। उनले बिहान ६ बजी, दिउँसो २ बजी र राति १० बजी गरी दिनमा तीन पटक डायलाइसिस गर्नुपर्ने हुन्छ। प्रत्येक पटक क्याथेटरमार्फत पेटमा विशेष फ्लुड प्रवेश गराई शरीरका अनावश्यक पदार्थ बाहिर निकालिन्छ।

तामाङलाई प्रत्येक महिना करिब १५ कार्टुन डायलाइसिस फ्लुड आवश्यक पर्छ। तर, पछिल्लो समय दुईदेखि तीन कार्टुन मात्रै उपलब्ध भइरहेको छ। यसका कारण उनले साथीभाईसँग फ्लुड सापटी लिनुपरेको छ। तर, उनका साथीहरूले समेत पर्याप्त फ्लुड पाउन सकेका छैनन्।

उनले भने, “हामीले दिनमा तीन पटक डायलाइसिस गर्नैपर्छ। तर फ्लुड नपाउँदा कतिपयले घटाएर दिनमा दुई पटक गर्नुपरेको छ भने केहीले एक पटक मात्रै गर्न सकिरहेका छन्। हामी साथीहरूसँग सापटी माग्ने प्रयास गर्छौँ, तर उनीहरू पनि समस्यामा छन्। अब हामी कसको भर पर्ने?”

तामाङका अनुसार, फ्लुड कहिले र कति मात्रामा उपलब्ध हुन्छ तथा अर्को पटकको डायलाइसिस समयमै गर्न पाइन्छ कि पाइँदैन भन्ने अनिश्चितताले बिरामीहरूको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ।

धेरै बिरामीका लागि पेरिटोनियल डायलाइसिसको सहज विकल्प उपलब्ध छैन। केही बिरामी शारीरिक अवस्थाका कारण हेमोडायलाइसिस गराउन सक्षम छैनन् भने अन्य केहीलाई रक्तनलीसम्म पहुँच स्थापित गर्न आवश्यक प्रक्रिया पूरा गर्न कठिनाइ भइरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande