
ढाका (बङ्गलादेश), २७ नोभेम्बर (हि.स.)। बङ्गलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा रहेका सावर र गाजीपुर औद्योगिक क्षेत्रमा श्रमिकहरूको निरन्तर विरोध प्रदर्शन तथा नयाँ तलब संरचना घोषणा गरिए पनि बिहीबार ३०० भन्दा बढी तयारी पोसाक कारखाना बन्द रहे। गाजीपुरमा विभिन्न स्थानमा तयारी पोसाक उद्योगका श्रमिकहरूले प्रदर्शन गरेका थिए। यसका कारण केही कारखानामा उत्पादनसमेत ठप्प भयो। औद्योगिक जिल्लाका विभिन्न क्षेत्रमा सडक अवरुद्ध गर्ने प्रयास गरिरहेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले ध्वनि विस्फोटकको प्रयोग गरेको थियो।
‘द डेली स्टार’ को समाचारअनुसार, बासन पुलिस चौकीका प्रभारी हारुन उर रशीदले पुलिस कारबाहीको पुष्टि गर्दै श्रमिकहरू बढी पारिश्रमिकको माग गर्दै विभिन्न स्थानमा सडकमा भेला भएको बताए। यस अशान्तिका कारण सर्वसाधारणको आवतजावतमा समेत कठिनाई भएको थियो। प्रभावित क्षेत्रबाट बच्न धेरैले वैकल्पिक मार्ग प्रयोग गरेका थिए।
बङ्गलादेश गार्मेन्ट एन्ड स्वेटर वर्कर्स ट्रेड युनियन सेन्टरका महासचिव काजी रुहुल अमीनले नयाँ तलब संरचनाले श्रमिकहरूको जीवनयापन खर्चलाई उचित रूपमा सम्बोधन नगरेको बताएका छन्। उनले तलब निर्धारण गर्दा बङ्गलादेश श्रम ऐन, २००६ को धारा १४१ मा उल्लेखित नौवटा मापदण्डलाई उचित रूपमा विचार नगरिएको आरोप लगाए। उनले श्रमिकहरूको जीवनयापन खर्चलाई ध्यानमा राखेर तलबमानको पुनरावलोकन गर्न सम्बन्धित अधिकारीहरूसँग आग्रह गरेका छन्।
प्राप्त जानकारीअनुसार, सावरमा बिहीबार सातवटा कारखानाका श्रमिकहरूले काम बन्द गरेका थिए। अशुलिया औद्योगिक पुलिस-१ का पुलिस अधीक्षक मोहम्मद मोमिनुल इस्लाम भुइयाँले अशान्तिका कारण श्रम ऐनको धारा १३(१) अन्तर्गत यसअघि नै बन्द घोषणा गरिएका २२ वटा कारखाना बिहीबार पनि बन्द रहेको बताए।
यसैबीच, सावरस्थित एक तयारी पोसाक कारखानामा तोडफोड, कर्मचारीमाथि आक्रमण तथा चोरी गरेको आरोपमा चार जना नाम उल्लेख भएका र अन्य ६०० जना अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको छ। एकेएच स्टिच आर्ट लिमिटेडका पदाधिकारी मोहम्मद नुरुल अमीनले सावर मोडल पुलिस थानामा उजुरी दिएका हुन्। आरोपअनुसार, कारखानाभित्र प्रवेश गर्नुअघि प्रदर्शनकारीहरूले घरेलु बम विस्फोट गराएका थिए। त्यसपछि तोडफोड गर्नुका साथै सामान लुटपाट र कर्मचारीमाथि कुटपिट गरेका थिए।
पुलिस निरीक्षक मोहम्मद मुशर्रफ हुसेनले मुद्दा दर्ता भएको पुष्टि गरेका छन्। उनका अनुसार, घटनाका क्रममा कारखानाका सुरक्षा गार्डहरूले चार जनालाई नियन्त्रणमा लिएर पुलिसको जिम्मा लगाएका थिए। पक्राउ परेका चारै जना उक्त कारखानाका कर्मचारी रहेको बताइएको छ।
बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष महमुद हसन खानले अशुलिया, सावर र गाजीपुरजस्ता प्रमुख कपडा तथा तयारी पोसाक औद्योगिक केन्द्रहरूमा अझै पनि अवस्था पूर्ण रूपमा सामान्य हुन नसकेको बताए। उनले भने, “बिहीबार यी क्षेत्रका ३०० भन्दा बढी कारखाना बन्द रहे।”
यसैबीच, श्रम तथा रोजगारमन्त्री आरिफुल हक चौधरीले शनिबारसम्म सबै कारखानामा पुनः उत्पादन शुरु हुने अपेक्षा व्यक्त गरेका छन्। ढाकास्थित श्रम भवनमा नयाँ तलब संरचनासम्बन्धी आयोजित पत्रकार सम्मेलनमा उनले उद्योगलाई क्षति पुर्याउन खोज्ने स्वार्थी तत्त्वहरूलाई रोक्न सबै सम्बन्धित पक्षलाई अनुकूल वातावरण निर्माण गर्न आग्रह गरे।
उनका अनुसार, तलब बोर्डले निकै छोटो समयमा नयाँ तलब संरचना घोषणा गरेको हो। साथै लोकतान्त्रिक प्रक्रियामार्फत तलबमान निर्धारण गरिएको उनले बताए।
गत २५ नोभेम्बरमा तलब बोर्डले तयारी पोसाक उद्योगका श्रमिकहरूको न्यूनतम मासिक तलब १२ हजार ५०० टाकाबाट बढाएर १७ हजार टाका पुर्याएको थियो।
हिन्दुस्थान समाचार / बिशाल