
काठमाडौँ, २७ नोभेम्बर (हि.स.)। नेपाल र भारतबीच पाइपलाइनमार्फत ग्यास आपूर्ति तथा ग्यास भण्डारण गृह निर्माण गर्ने सम्बन्धमा भएको सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। यसका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) र नेपाल आयल निगम (एनओसी) का अधिकारीहरू सम्मिलित संयुक्त कार्यदल गठन गरिएको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा भएको सम्झौताअनुसार संयुक्त कार्यदल गठन गर्ने निर्णय लिइएको थियो। कार्यदलको नेतृत्व नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव र भारतका तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका संयुक्त सचिवले गर्नेछन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसमा नेपाल सरकारको अधीनमा ग्यास भण्डारण गृह निर्माण गर्ने घोषणा गरेपछि कार्यदल गठन गरिएको हो।
यस परियोजनाअन्तर्गत आईओसीका अधिकारीहरूले एनओसीको नेत्रगञ्जस्थित जग्गाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ। निरीक्षणपछि पाइपलाइनको संरचना, ग्यास भण्डारण गृह, ग्यास बुलेटबाट ग्यास झार्ने क्षमता तथा सिलिन्डरमा ग्यास भर्ने व्यवस्थालगायतका विषय समेटेर विस्तृत प्रस्ताव तयार गरिनेछ।
भारतीय अधिकारीहरूका अनुसार, पाइपलाइन तथा भण्डारण गृह निर्माणका लागि अनुमानित एक हजार ५२ करोड भारतीय रुपियाँ खर्च लाग्नेछ।
उद्योग मन्त्रालयका सहसचिव नवराज घिमिरेले नेपाल र भारतका सहसचिवस्तरीय संयुक्त कार्यदलको पहिलो बैठक आज शुक्रबार बस्ने पुष्टि गरेका छन्। उनका अनुसार, भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका संयुक्त सचिवको नेतृत्वमा आउने प्रतिनिधिमण्डलसँग परियोजनाका विभिन्न पक्षमा विस्तृत छलफल हुनेछ।
घिमिरेका अनुसार, आगामी एक महिनाभित्र परियोजनासम्बन्धी विषयहरूलाई अन्तिम रूप दिने लक्ष्य राखिएको छ।