भोटेकोशी बाढीमा सार्वजनिक यातायात क्षेत्रका ६७६ जना अझै बेपत्ता, १४० करोड रुपियाँभन्दा बढीको क्षति
भोटेकोशी बाढ़ में सार्वजनिक यातायात का नुकसान


काठमाडौँ, २७ नोभेम्बर (हि.स.)। नेपालमा गत २६ अगस्तमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गरिएको छ। बाढीबाट सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित कुल ७८२ जना प्रभावित भएका छन्। तीमध्ये ६७६ जना अझै बेपत्ता छन् भने ३९ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्।

यातायात क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन गर्न गठित समितिले आफ्नो प्रतिवेदन भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई बुझाएको छ। प्रतिवेदनमा बाढी प्रभावित यातायात श्रमिक, व्यवसायी तथा पीडित परिवारका लागि राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनःस्थापनाको व्यवस्था गर्न सिफारिस गरिएको छ।

क्षति मूल्याङ्कन समितिको प्रतिवेदनअनुसार, प्रभावित ७८२ जनामध्ये ५३२ जना चालक, १११ जना सहचालक, १०६ जना यात्रु र ३३ जना यातायात व्यवसायी रहेका छन्। तीमध्ये ६७६ जना बेपत्ता, ३९ जनाको मृत्यु, ६४ जनाको अवस्था तथा विवरण अस्पष्ट र तीन जना घाइते रहेको उल्लेख छ।

१४ विदेशी पर्यटक र १०३ विदेशी तीर्थयात्री पनि बेपत्ता

प्रतिवेदनमा बाढीमा १४ जना विदेशी पर्यटकसमेत बेपत्ता भएको उल्लेख छ। बेपत्ता हुनेमा १३ जना अस्ट्रेलियाली र एक जना अमेरिकी नागरिक रहेका छन्।

यसैगरी, नमस्ते पासाङल्हामु यातायात प्राइभेट लिमिटेडका चारवटा बसमा यात्रा गरिरहेका १०३ जना विदेशी तीर्थयात्रीसमेत बेपत्ता भएको जनाइएको छ। यद्यपि ती तीर्थयात्रीहरूको विस्तृत व्यक्तिगत विवरण उपलब्ध हुन सकेको छैन।

४०९ वटा सवारीसाधनमा क्षति, १४० करोड रुपियाँभन्दा बढीको नोक्सानी

भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रका कुल ४०९ वटा सवारीसाधनमा क्षति पुगेको छ। क्षति भएका सवारीसाधनमा ३११ वटा कन्टेनर, एउटा ट्रेलर, नौवटा टिपर, ३३ वटा ट्रक, ३९ वटा बस, नौवटा मिनीबस तथा माइक्रोबस, एउटा मोटरसाइकल, तीनवटा पर्यटक चारपाङ्ग्रे सवारीसाधन तथा तीनवटा सार्वजनिक जीप, भ्यान र सुमो रहेका छन्।

प्रतिवेदनअनुसार, ४०९ मध्ये ३८४ वटा सवारीसाधनको अनुमानित क्षति १४० करोड ७३ लाख ७७ हजार ८७५ नेपाली रुपियाँ रहेको छ। बाँकी २५ वटा सवारीसाधनको आर्थिक क्षतिको विवरण भने उपलब्ध हुन सकेको छैन।

राहत तथा पुनःस्थापनाका लागि तत्काल कदम चाल्न सिफारिस

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा गत २६ भदौमा १३ सदस्यीय क्षति मूल्याङ्कन समिति गठन गरिएको थियो। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो। तर निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि थप १५ दिन समयावधि बढाइएको थियो।

प्रतिवेदन बुझाउने क्रममा मन्त्री सुनील लम्सालले यसमा समेटिएका सुझाउहरूको तत्काल कार्यान्वयन तथा यातायात श्रमिक, व्यवसायी र प्रभावित नागरिकका समस्या र तिनको समाधानका विषयमा छलफल गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande