
मुजफ्फराबाद (पीओके), २७ नोभेम्बर (हि.स.)। पाकिस्तान अधिकृत जम्मू-कश्मीर (पीओके) सरकारले रावलकोटका मेयर अब्दुल नईम खानलाई राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै पदमुक्त गरेको छ। प्रतिबन्धित सङ्गठन ज्वाइन्ट अवामी एक्सन कमिटी (जेएएसी) का कार्यकर्ताका रूपमा उनलाई आतङ्कवाद विरोधी ऐन (एटीए) को चौथो अनुसूचीमा समेत समावेश गरिएको छ। पाकिस्तानको सङ्घीय सरकारले यस क्षेत्रमा अशान्ति फैलाउन विदेशी एजेन्डाअनुसार काम गर्ने तत्त्वहरू जिम्मेवार रहेको आरोप लगाएको छ।
डन को समाचारअनुसार, सरकारले बिहीबार रावलकोटका मेयर अब्दुल नईम खानलाई पदबाट हटाउनुका साथै राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नगरपालिकाको सदस्यतासमेत खारेज गरेको छ।
स्थानीय सरकार तथा ग्रामीण विकास विभागद्वारा जारी अधिसूचनामा ‘स्थानीय सरकार ऐन, १९९०’ को धारा २३(२) अन्तर्गत यो कारबाही गरिएको उल्लेख छ। यसैगरी, एजेके गृह विभागले १५ नोभेम्बरमा जारी गरेको अर्को अधिसूचनाअनुसार खानको नाम आतङ्कवाद विरोधी ऐनको धारा १६ अन्तर्गत चौथो अनुसूचीमा समावेश गरिएका व्यक्तिहरूको सूचीमा राखिएको छ।
यसैबीच, पीएमएल-एन नेतृत्वको पीओके सरकारले १५ अरब रुपियाँको सयदिने कार्ययोजना सार्वजनिक गरेको छ। यस योजनामा स्वास्थ्य, शिक्षा, यातायात, पर्यटन तथा नागरिक पूर्वाधारमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। योजनामा केही दीर्घकालीन परियोजनासमेत समावेश छन्।
प्रमुख योजनाअन्तर्गत ७० वटा मोबाइल अस्पताल एकाई, ७५ वटा विद्युतीय बस तथा पाँचवटा ‘दानिश स्कूल’ सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
प्रधानमन्त्री इफ्तिखार गिलानीले लामो समयदेखि रोकिएको ‘जागरन-द्वितीय’ जलविद्युत् परियोजना सम्पन्न गर्ने विभिन्न विकल्पबारे सरकारले विचार गरिरहेको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल