रूस-अमेरिका-युक्रेनबीच १० र ११ नोभेम्बरमा अबु धाबीमा त्रिपक्षीय वार्ता हुने: पुतिन
रूस-यूक्रेन-अमेरिका  (फाइल फाेटाे)


मस्को, ०७ नोभेम्बर (हि.स.)। रूस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने दिशामा पुनः कूटनीतिक प्रयास तीव्र बनेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले रूस, अमेरिका र युक्रेनका प्रतिनिधिमण्डलबीच अर्को चरणको वार्ता १० र ११ नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा हुने पुष्टि गरेका छन्। यस वार्ताको मुख्य उद्देश्य युद्ध अन्त्य गर्ने, तनाव कम गर्ने तथा शान्तिको मार्ग खोज्ने विषयमा छलफल गर्नु रहेको छ।

रूसको सरकारी समाचार संस्था तासलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार टेलिभिजन सञ्जाल रसिया टुडे (आरटी) तथा टर्कीको सरकारी समाचार संस्था अनाडोलुले जनाएअनुसार, पुतिनले शुक्रबार रूसको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उक्त वार्ताबारे जानकारी दिएका हुन्। उनले मंगलबारदेखि वार्ता सुरु हुने अपेक्षा गरिएको बताउँदै रूसी प्रतिनिधिमण्डलमा सहभागी हुने अधिकारीहरूलाई समेत बैठकमा बोलाएका थिए।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार, अबु धाबीमा हुने वार्तामा रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्नेछन्। यसअघि पनि मेडिन्स्कीले युक्रेनसँग भएका विभिन्न चरणका शान्ति वार्तामा रूसको प्रतिनिधित्व गरिसकेका छन्।

बैठकमा रूसी सुरक्षा परिषद्सँग सम्बन्धित वरिष्ठ अधिकारीहरू युरी उशाकोभ, मिखाइल गलुजिन, सर्गेई रयाबकोभ तथा सैन्य गुप्तचर प्रमुख इगोर कोस्त्युकोभ पनि उपस्थित थिए।

यसअघि अमेरिकी विशेष दूत स्टिभ विटकफले वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरणका उपाय, मानवीय सहायता तथा स्थायी शान्तिका लागि चाल्नुपर्ने आगामी कदमहरूबारे छलफल हुने बताएका थिए।

अमेरिकाले यस वार्तालाई युद्ध अन्त्य गर्ने प्रयासका दृष्टिले महत्त्वपूर्ण मानेको छ। यद्यपि, रूसले युरोपेली देशहरूको प्रत्यक्ष सहभागिताको विरोध गरेको छ।

राष्ट्रपति पुतिनले यसअघि पनि आफ्नो देश वार्ताका लागि तयार रहेको तर अस्थायी युद्धविरामको पक्षमा नरहेको बताउँदै आएका छन्। मस्कोको भनाइमा स्थायी शान्ति सम्झौतामा द्वन्द्वका मूल कारणहरू तथा रूसका सुरक्षा चासोहरूलाई समेत समेटिनुपर्छ।

अबु धाबीमा हुने यस त्रिपक्षीय वार्तालाई रूस-युक्रेन युद्ध अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ। यद्यपि, दुवै देशबीच विद्यमान मतभेदलाई दृष्टिगत गर्दा ठोस सहमतिमा पुग्नु अझै पनि चुनौतीपूर्ण देखिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande