
वासिङ्टन (अमेरिका)/तेहरान (इरान), 08 नोभेम्बर (हि.स.)। अमेरिकाले इरानका स्थलमार्गबाट हुने आपूर्ति रोक्ने नयाँ योजना घोषणा गरेको छ। यससँगै होर्मुज जलडमरूमध्यस्थित इरानी बन्दरगाहमा महिनौँदेखि जारी नौसैनिक नाकाबन्दीलाई थप विस्तार गरिएको छ। यसैबीच, इरानी सञ्चारमाध्यमका अनुसार केशम द्वीप, जास्क, सिरिक र बन्दर अब्बासमा विस्फोटका आवाज सुनिएका छन्। यद्यपि, विस्फोटको कारण अझै स्पष्ट हुन सकेको छैन। उता, साउदी अरब र कतारले क्षेत्रीय सुरक्षाका विषयमा छलफल गरेका छन्।
अल जजिरा र सीबीएस न्युजका अनुसार, मध्यपूर्व तथा आसपासका क्षेत्रमा बढ्दो तनाव र पछिल्ला घटनाक्रमबारे साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउद र कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीले शनिबार टेलिफोनमार्फत छलफल गरेका छन्। साउदी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दुवै मन्त्रीले ‘तनाव कम गर्ने तथा सुरक्षा र स्थिरता बढाउने उद्देश्यले भइरहेका प्रयास’ बारे पनि विचारविमर्श गरेको जनाएको छ। एक साताभित्र उनीहरूबीच भएको यो दोस्रो टेलिफोन वार्ता हो।
होर्मुज जलडमरूमध्यको अवस्था निकै संवेदनशील रहेको बताइएको छ। अमेरिका र इरानबीच एकअर्काका जहाजलाई निशाना बनाउने खतरा बढिरहेको छ। इरानको सरकारी समाचार संस्था इरनाका अनुसार केशम, जास्क, सिरिक र बन्दर अब्बासमा विस्फोटका आवाज सुनिएका छन्। यद्यपि, ती स्थानमा आक्रमण भएको भन्ने पुष्टि गरिएको छैन। यी घटनाहरू इरानले कुनै परीक्षण गरिरहेको वा युद्धको अर्को चरणका लागि तयारी प्रदर्शन गरिरहेको हुन सक्ने अनुमान गरिएको छ। तर, अमेरिका र इरान दुवै पक्षले घटनाबारे आधिकारिक पुष्टि गरेका छैनन्।
अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) ले इरानविरुद्ध नयाँ कार्यदल गठन गर्ने र इरानी बन्दरगाहमा जारी नौसैनिक नाकाबन्दीलाई थप कडा बनाउने जनाएको छ। सेन्टकमका अनुसार, यस अभियानले तेहरानलाई हतियार ओसारपसारका लागि स्थलमार्ग प्रयोग गर्नबाट रोक्नेछ। यसबाट इरानका आम्दानीका स्रोतहरू बन्द हुनुका साथै क्यास्पियन सागरको उपयोग गर्ने सम्भावना पनि सीमित हुने दाबी गरिएको छ।
सेन्टकमले अमेरिकी सेनाले ओमानको खाडीमा एउटा व्यापारिक जहाजलाई निष्क्रिय बनाएको जनाएको छ। विज्ञप्तिअनुसार, जहाजका असैनिक चालक दलले पटक पटक दिइएका चेताउनी बेवास्ता गर्दै इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेका थिए। त्यसपछि अमेरिकी सेनाको एउटा विमानले सेन्ट किट्सको झण्डा बोकेको ‘एमभी हुडा’ नामक जहाजको पछिल्लो भागमा सटीक प्रहार गरेको थियो। उक्त प्रहारपछि जहाज निष्क्रिय भएको सेन्टकमले जनाएको छ।
सेन्टकमका अनुसार, उक्त मालवाहक जहाज इरानी बन्दरगाहमा पुगेपछि क्षेत्रीय जलक्षेत्रबाट बाहिरिने प्रयास गरिरहेको थियो। सेन्टकमले इरानको तटीय क्षेत्र वा आसपासका जलक्षेत्र भएर आवतजावत गर्ने सबै नाविकलाई अमेरिकी सेनाले जारी गरेको नाकाबन्दीसम्बन्धी चेतावनी पालना गर्न आग्रह गरेको छ।
यसअघि सेन्टकमले शुक्रबार इरानको आणविक कार्यक्रम, त्यसका केन्द्र, उपकरण वा कर्मचारीबारे सूचना दिने व्यक्तिलाई दुई करोड अमेरिकी डलरसम्मको पुरस्कार र अन्यत्र पुनर्वासको विकल्प उपलब्ध गराइने घोषणा गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शुक्रबार अमेरिकाले इरानमाथि सीमित आक्रमण गरेको पुष्टि गरेका थिए। यसअघि इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरूमध्यस्थित केशम द्वीपमा क्षेप्यास्त्र प्रहार भएको समाचार सार्वजनिक गरेको थियो।
यसैबीच, सेन्टकमले ‘टास्क फोर्स आइरन गेट’ गठन गर्ने घोषणा गरेको छ। यसको उद्देश्य नौसैनिक नाकाबन्दीलाई स्थलमार्गबाट हुने व्यापारिक गतिविधिसम्म विस्तार गरी त्यसलाई थप प्रभावकारी बनाउनु रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल