
खरसाङ, 11 फरवरी (हि.स.)। खरसाङ किक बक्सिङ एशोसिएशनका नानीहरूले दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा आयोजित पाँचौं भारतीय अन्तरराष्ट्रिय किक् बक्सिङमा कप 2026 मा आफ्नो राम्राे प्रदर्शन गरी खरसाङलाई गौरवान्वित बनाएका छन्। खरसाङ किक बक्सिङ एशोसिएशनका कोच विजय राउतको सक्रियतामा संस्थाका चारजना नानीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा चारैजना नानीहरूले पदक हासिल गरेका छन्।
संघका प्रशिक्षक विजय राउतले अन्तरराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिनका लागि आर्थिक सहयोगको पनि आवश्यकता पर्ने हुन्छ भन्दै खरसाङका समाजसेवी टीटी लामा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महकुमा समिति युवा शक्तिका अध्यक्ष पेमेन्द्र गुरुङलाई निरन्तर समर्थनको लागि धन्यवाद दिए। यसैगरी, उनले जीटीएका मुख्य कार्यपाल अनित थापालाई पनि धन्यवाद दिँदै उनको सहयोग बिना नानीहरुको सहभागिता सम्भव थिएन भनी बताए।
उनले किक बक्सिङमा प्रशिक्षणका लागि आवश्यक पर्ने इक्विपमेन्टहरूकाे कमी पूरा भएको खण्डमा वर्ष 2028 मा आयोजना हुने ओलम्पिकमा हाम्रा पहाड़का नानीहरूले पनि सहभागिता लिन सक्ने आशा व्यक्त गरे। उनले प्रशिक्षणका आवश्यक सर सामानहरूको व्यवस्था गरिदिन प्रशासन समक्ष निवेदन गरेका छन्।
खरसाङ किक बक्सिङ एशोसिएशनका नानीहरुलाई बधाई दिन आज खरसाङ रेलवे स्टेशनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ ,शहर समितिका मूल सचिव बीरबल पाख्रीन लगायत खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्री र अन्य सदस्यहरु उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक