राजधानीमा पानीको अभावलाई ध्यानमा राख्दै दिनमा एक पटक मात्र पानी आपूर्ति गरिने
राजधानीमा पानीको अभावलाई ध्यानमा राख्दै दिनमा एक पटक मात्र पानी आपूर्ति गरिने


गान्तोक, 11 फरवरी (हि.स.)। राजधानीमा पिउने पानीको संकटलाई ध्यानमा राख्दै राज्य जनस्वास्थ्य अभियान्त्रिकी विभाग (पीएचई) ले उपभोक्ताहरूमा समान वितरण सुनिश्चित गर्न दिनमा एक पटक मात्र पानी आपूर्ति गर्ने बताएको छ। विभागले व्यावसायिक प्रतिष्ठानहरूलाई पानीको खपत कम गर्न र घरपरिवारहरूलाई आफ्नो ट्याङ्कीमा बलकक र फ्लोट भल्भ जडान गर्न पनि आग्रह गरेको छ।

पीएचई विभागका अधिकारीहरूले आज राजधानीस्थित प्रेस क्लब अफ् सिक्किममा आयोजित एक पत्रकार सम्मेलनमा हाल राजधानीमा पानी अभावको विषय उठाउॅंदै उक्त कुरा भनेका हुन्। पीएचई विभागका पीसीई एवं सचिव शैलेन्द्र शर्माले अत्यधिक जाडो र वर्षाको अभावका कारणहरू पानीका स्रोतहरू प्रभावित बनेको अवगत गराए। उनले यस्ता प्रतिकूल मौसम अवस्था विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको परिणाम रहेको बताए। सेप्टेम्बर २०२५ को तुलनामा राज्यभरका जल स्रोतहरूमा पानीको बहाव स्तर कम्तिमा 50-60 प्रतिशतसम्म घटेको उनले थप जानकारी गराए।

सचिवले गान्तोकको लागि पानीको मुख्य स्रोत राते-चु नदी सुकेको कारणले गर्दा अब उपभोक्ताहरूमा समान वितरण सुनिश्चित गर्न दिनमा एक पटक मात्र पानी आपूर्ति गरिने बताए। उनले व्यावसायिक प्रतिष्ठानहरूलाई पानीको बर्बादी र खपत कम गर्न अपील गर्दै उच्च खपत दरका कारण दिनमा दुई पटक पानी आपूर्ति गर्न असम्भव बनाएको बताए। यसैगरी, सचिवले घरपरिवारहरूलाई पनि आफ्नो पानीको ट्याङ्कीमा बलकक र फ्लोट भल्भहरू जडान गर्न पनि आग्रह गरे।

उनले पानी आपूर्ति तथा पानी शुल्क ऐन, २०२५ को धारा ७, ८ र १५ अन्तर्गत पानीको अपव्यय पत्ता लागेमा जरिवाना लगाइने जानकारी दिए। यस अतिरिक्त, उनले एशियाली विकास ब्याङ्कको सहयोगमा भुसुक खोलालाई वैकल्पिक पानी आपूर्ति स्रोतको रूपमा विचार गरिएको र परियोजना उन्नत चरणमा पुगेको पनि जानकारी गराए। उनले आगामी मार्च महिनासम्ममा टेन्डर जारी हुने अपेक्षा गरिएको बताए। यदि यो स्रोतले तादोङ मुनिका क्षेत्रहरूमा आपूर्ति गर्न सक्षम भयो भने राते-चु स्रोत गान्तोक र माथिका क्षेत्रहरूको लागि आरक्षित गर्न सकिने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande