
गान्तोक, 11 फरवरी (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बालाई लोकसभाका अध्यक्ष ओम बिरलाद्वारा गठित 'विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५' मा संयुक्त समितिका सदस्यको रूपमा मनोनीत गरिएको छ। अध्यक्षले संयुक्त समितिको अध्यक्ष पदमा सांसद (लोकसभा) डा. डी. पुरन्देश्वरीलाई नियुक्त गरेका छन्।
सांसद डा. सुब्बाले आज जारी एक प्रेस विज्ञप्तिमा आफूमाथि देखाएको विश्वासका लागि लोकसभाका अध्यक्ष ओम बिरला तथा संसदीय प्रक्रियामा मार्गदर्शन र सहयोगका लागि संसदीय मामिला मन्त्री किरेन रिजिजुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
उनले संयुक्त समितिको छलफलमा रचनात्मक योगदान दिन र विधेयकले विकसित भारतको दृष्टिकोण अनुरूप समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको आकांक्षालाई प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्न आफ्नो तर्फबाट सर्वोत्तम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी, सांसद सुब्बाले समितिको छलफलमा सिक्किम र अन्य हिमाली तथा सीमावर्ती क्षेत्रका दृष्टिकोणहरू सामेल गर्दै विद्यार्थी, शिक्षक र संस्थाहरूको हितलाई कायम राख्ने पनि आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
हिन्दुस्थान समाचार / बिशाल