
गान्तोक, 11 फरवरी (हि.स.)। मल्ली बजारको डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको टोलीले आज राज्यका मुख्य सचिव आर. तेलाङसॅंग औपचारिक भेट गरेर मल्लीको टिस्टा नदीमा पश्चिम बङ्गालतर्फ नदी मिचेर करिब ५० फिट बीचमा उठाउँदै गरेको सुरक्षा पर्खाल विषय वार्ता गऱ्यो। यस प्रतिनिधि टोलीको अगुवाई डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटी, मल्लीका अध्यक्ष मनोज कुमार गुप्ताले गरेका थिए। अध्यक्ष गुप्ताको साथमा समितिका उपाध्यक्ष सतिश शर्मा तथा महासचिव महेन्द्र प्रधान पनि उपस्थित थिए।
समितिको तर्फबाट मुख्य सचिवलाई चढाएको ज्ञापनपत्रमा मुद्दाको वस्तुस्थितिलाई स्पष्ट रुपमा बताउन अहिलेका र विगतका तस्बिरहरु पनि समितिले मुख्य सचिवलाई चढाएको छ। समितिले मुख्य सचिवलाई स्पष्ट रुपमा भनेको छ कि रेलवेको कामले गर्दा जति पनि माटो टिस्टा नदीमा डम्पिङ गरिएको थियो त्यो सबै माटो ४ अक्टोबर, २०२३ को भल पैह्रोले खोलामा ल्यायो र टिस्टाको जलस्तर ७० फिटसम्म माथि उचालियो। मल्ली बजारमा मात्रै टिस्को जलस्तर ७० फिटसम्म माथि उठाउनमा यो रेलवे डम्पिङको ठूलो भूमिका रहेको छ।
२०२३ अघि पनि यो डम्पिङ विरूद्ध मल्ली बजारले नाम्ची जिल्लापालसॅंग उजुरी गरेको थियो। त्यस समय डम्पिङ रोकिएन, तर डम्पिङलाई रेलवेले सुचारु रुपमा अघि बढाई बसेको ज्ञापनपत्रमा जनाइएको छ। आज आएर रेलवे तथा एनएचआईडीसीएल जस्ता कम्पनीहरूले टिस्टा खोलाको बीचमा पर्खाल उठाएर मल्लीको भविष्य मेट्ने काम युद्धस्तरमा गरीरहेको छ। आज जुन कम्पनीले टिस्टा नदी मिचेर वाल लगाउँदैछ यदि त्यो सफल भएको खण्डमा मल्ली बजारले ४ अक्टोबर, २०२३ को घटना जस्तै प्रत्येक वर्ष भोग्नुपर्ने कमिटीले सजग गराएको छ।
समितिको ज्ञापन पश्चात, राज्यका मुख्य सचिवले मल्ली बजारले उठाएको यस समस्याप्रति गम्भीर भएर समस्याको निम्ति आउँदो १६ फरवरीको दिन एनएचआईडीसीएल, रेलवे, नाम्ची जिल्लापाल, वन विभाग तथा अन्य सम्बन्धित विभागहरुसॅंग सभा डाक्ने निधो गरेको बताइएको छ। डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट समिति, मल्लीले यो समस्या समाधान नभए न्यायालयको ढोका खटखटाउनेछौं चेताउनी पनि दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल