गेजिङमा भूकम्प मक-ड्रिल अभ्याससम्बन्धी तयारी बैठक सम्पन्न
Earthquake mock drill


गेजिङ, 12 फरवरी (हि.स.)। गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाकाे अध्यक्षतामा आज गेजिङ जिल्लामा भूकम्प सम्बन्धी मक-ड्रिल अभ्यासको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न तयारी बैठक आयाेजन गरियाे। बैठकमा सबै क्षेत्र, विशेषगरी सर्वसाधारण जनताको स्वेच्छिक सहभागिता र सामूहिक प्रयासको आवश्यकतामा विशेष जोड दिइयो। भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न जिल्लामा समन्वित र व्यवस्थित अभ्यास अत्यन्त आवश्यक रहेको सभामा उल्लेख गरियो।

सभालाई सम्बोधन गर्दै जिल्लापालले सर्वसाधारणमा प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले कठिन परिस्थितिमा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक तथा अप्रमाणित सूचनामा भर नपर्न जनतालाई आग्रह गरे। उनले मक ड्रिल सञ्चालनसम्बन्धी सार्वजनिक सूचना (एड्भाइजरी) जारी गरिने पनि जानकारी दिए। हालै भइरहेका बारम्बारका भूकम्पका घटनाले अभ्यास सञ्चालनका क्रममा कुनै अवरोध वा त्रास सिर्जना नहोस् भन्ने उद्देश्यले उक्त सूचना जारी गरिने उनले बताए।

बैठकमा जिल्लाका विभिन्न क्लस्टर अन्तर्गत तोकिएका विद्यालयहरूमा मक ड्रिल सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीबारे विस्तृत छलफल गरियो। समग्र तयारीको दृष्टिकोणसहित यो अभ्यासले प्राकृतिक प्रकोपबाट हुने सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएकाे छ।

बैठकमा जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू, सम्बन्धित विभाग र निकायका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे।

उल्लेखनीय छ, विगत केही दिनदेखि सिक्किमका विभिन्न ठाउॅंहरूमा भूकम्पका सामान्यदेखि मध्यम तीव्रताका झट्काहरू महसुस भइरहेका छन्। यी भूकम्पका झट्काहरूले पश्चिम सिक्किमका केही विद्यालयहरूलाई क्षति पुर्याएकाे खबरहरू प्रकाशमा आएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande