एनएसीडब्ल्यूसीकी अध्यक्षद्वारा गान्तोकमा उद्यमीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
Interactive session


गान्तोक, 12 फरवरी (हि.स.)। भारत सरकारको क्याबिनेट सचिवालयअन्तर्गत नेशनल अथोरिटी केमिकल वेपन्स कन्भेन्शन (एनएसीडब्ल्यूसी) की अध्यक्ष रोली सिंहले आज सिक्किमका उद्यमीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिन्। उक्त कार्यक्रम सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागको सहकार्यमा सम्पन्न गरिएको थियो।

कार्यक्रममा वाणिज्य तथा उद्योग विभागकी सचिव कर्म डी. युत्सो, शहरी विकास विभागकी प्रधान मुख्य वास्तुकार एवं सचिव योगिता राई, संयुक्त सचिव गिरधारी एल. मीना, वाणिज्य तथा उद्योग विभागकी विशेष सचिव एवं निर्देशक छोडेन ग्यात्सो र उद्यमीहरू उपस्थित थिए। अन्तरक्रियाका क्रममा सहभागी उद्यमीहरूले आफ्ना व्यवसायिक मोडेल प्रस्तुत गर्दै राज्यमा उद्यमशीलताको अनुभव साझा गरे।

एनएसीडब्ल्यूसी अध्यक्ष सिंहले उद्यमीहरूबाट सुझाउ अपेक्षा गर्दै विभिन्न क्षेत्रमा देखिएका नयाँ अवसरहरू अन्वेषण गर्न प्रेरित गरिन्। पर्यटन क्षेत्रलाई सम्भावनायुक्त प्रमुख क्षेत्रका रूपमा उल्लेख गर्दै उनले होमस्टेले स्थानीय समुदायलाई बहुआयामिक लाभ पुर्‍याउने बताइन्।

दिगो विकासमा जोड दिँदै उनले प्रकृतिसँग सामञ्जस्य कायम गर्दै काम गर्न आग्रह गरिन्। कृषि तथा बागवानीजस्ता क्षेत्र सिक्किमका लागि अझै पनि अत्यन्त लाभदायक रहेको उल्लेख गर्दै उनले केन्द्र तथा राज्य सरकारद्वारा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमहरूको अधिकतम उपयोग गरी व्यवसाय सुदृढ गर्न र बजार सञ्जाल विस्तार गर्न उद्यमीहरूलाई प्रेरित गरिन्।

अध्यक्षले सिक्किमका उद्यमी समुदायले देखाएको पहल र नवप्रवर्तनको प्रशंसा गर्दै उनीहरूका सुझाउ तथा चिन्ताहरूलाई गम्भीरतापूर्वक लिइने आश्वासन दिइन्। उनले समावेशी आर्थिक वृद्धिलाई तीव्रता दिन संस्थागत सहयोग सुदृढ गर्ने, प्रक्रिया सरलीकरण गर्ने तथा स्थानीय रूपमा सञ्चालित दिगो उद्यम प्रवर्द्धन गर्ने आवश्यकतामा जोड दिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande