
गान्तोक, 12 फरवरी (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको बिहिवार दक्षिण सिक्किमको जोरथाङस्थित गरिब उत्थान भवनमा एक महत्त्वपूर्ण सभा आयोजन गरियो। एसडीएफ अध्यक्ष पवन चामलिङको अध्यक्षता आयोजित सभामा पार्टीका सबै पदाधिकारीगण उपस्थित थिए।
सभामा आगामी ४ मार्चका दिन एसडीएफको स्थापना दिवस भव्यताका साथ मनाउने निर्णय गरिएको पार्टी प्रवक्ता योजना खालिङ राईले आज प्रेस विज्ञप्तिमा बताएकी छन्।
सभामा एसडीएफ अध्यक्ष चामलिङले पार्टीका कार्यकर्तालाई हौसला दिँदै पार्टीमा अझ सक्रिय रुपमा काम गर्ने आह्वान गरे। सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षले भने, राजनीति व्यक्तिगत स्वार्थका लागि र आफू मात्र बाँच्नको लागि गरिने पेशा होइन, तर राजनीति सबैको लागि गरिने कर्म हो। त्यसैले एसडीएफ पार्टी जहिले पनि सिक्किम अनि सिक्किमे जनताको लागि छ।
उनले पार्टी कार्यकर्ताहरूलाई सिक्किम नवनिर्माणको लागि निरन्तर लागिपर्नु पर्ने आह्वान गरेका छन्। सिक्किमे जनतालाई असल सरकारको खाँचो छ अनि एसडीएफ पार्टीले मात्र जनतालाई सुरक्षा गर्ने सिस्टम बनाउन सक्छ भन्दै सिक्किम नवनिर्माणका लागि निरन्तर लागिरहने उनले प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष चामलिङले भने, 'जसरी एसडीएफ सरकारमा सिक्किमले शुरु गरेको जैविक अभियान विश्वले सिके, त्यसरी सिक्किमले बनाएको सिस्टम फेरि विश्वले सिक्नेछन्। हामी सिर्जनशील, नवप्रवर्तनकारी, प्रतिस्पर्धी राजनीति गर्छौं अनि सिक्किमलाई नवनिर्माण गरि नयाँ सभ्यता तर्फ लान्छौ। पवन चामलिङ अनि एसडीएफ पार्टीले सिक्किमे जनतालाई धोका दिने छैन।
हिन्दुस्थान समाचार / बिशाल