वरिष्ठ कथाकार उषा शर्मा गन्तव्य कथा सङ्ग्रहका लागि दशौँ ‘कश्यप’ स्मृति पुरस्कारद्वारा अलङ्कृत
वरिष्ठ कथाकार उषा शर्मा गन्तव्य कथा सङ्ग्रहका लागि दशौँ ‘कश्यप’ स्मृति पुरस्कारद्वारा अलङ्कृत


गान्तोक, 12 फरवरी (हि.स.)। नेपाली साहित्य परिषद् (नेसाप) सिक्किम एवम् तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमको संयुक्त तत्वावधानमा ११ फरवरी, २०२६ का दिन महाकवि तुलसीराम शर्मा ‘कश्यप’ को ८७औँ जन्मजयन्ती समारोह परिषद् भवनकै सभाकक्षमा आयोजन गरियो। कार्यक्रममा वरिष्ठ कथाकार उषा शर्मालाई उनको गन्तव्य कथा सङ्ग्रहका निम्ति दशौँ ‘कश्यप’ स्मृति पुरस्कारद्वारा अलङ्करण गरियो। उक्त जानकारी नेसाप प्रचार सचिव जोसेफ लेप्चाले आज प्रेस विज्ञप्तिमा दिएका छन्।

वरिष्ठ भाषाविद् प्रा. रुद्र पौड्यालको मुख्य आतिथ्य एवम् परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको यस भव्य समारोहमा पुरस्कृत साहित्यकार उषा शर्माले ‘आफूलाई यस पुरस्कारले साहित्य सृजनामा अझ बढ़ी जिम्मेवारी दिएको र आफू यहाँसम्म आउनमा ‘प्रतिभा मिलन’ जस्तो मासिक कार्यक्रमको पनि ठूलो देन रहेको बताइन्।

वक्तव्यको क्रममा मुख्य अतिथि प्रा. रुद्र पौड्यालले प्रतिष्ठानले कश्यप पुरस्कारको स्थापना गरेर अनि नेपाली साहित्य परिषद्ले कश्यपको जन्मजयन्ती पालन गरेर ‘कश्यप’ लाई जीवन्त राख्ने जुन काम गर्दै आएको छ, त्यो प्रशंसनीय रहेको बताए। वर्तमानमा पुस्तकहरूको प्रकाशन निरन्तर भइरहे तापनि पाठकहरू घट्दै गइरहेकाले पठन संस्कृति बढ़ाउन पर्ने कुरामाथि जोड़ दिए।

यसरी नै कार्यक्रमका अध्यक्ष हरि ढुङ्गेलले ‘कार्यक्रम धेरै अर्थमा अत्यन्त सफल रहेको आफ्नो मन्तव्य राख्दै ‘कश्यप सङ्गीत’ को अवधारणालाई हामीले अघि बढ़ाउन सक्यौं भने नेपाली सङ्गीत जगतका निम्ति पनि एउटा ठूलो उपलब्धि रहने’ बताए।

कार्यक्रममा महाकवि ‘कश्यप’ को व्यक्तित्व एवम् कृतित्वमाथि डा. कृष्ण सापकोटाले वार्ता प्रस्तुत गरे भने भारतको चौथो नागरिक सम्मानद्वारा अलङ्कृत सानु लामाको साहित्यिक योगदानमाथि डा. टेकबहादुर छेत्रीले वार्ता प्रस्तुत गरे।

कार्यक्रममा ‘कश्यप’ काव्यकृतिबाट गजलकार सीता शर्मा ‘शीत’ ले कविता वाचन गरेकी थिइन् भने आलिषा छेत्री र शेरबहादुर कार्कीले आआफ्ना स्वरचित कविता वाचन गरेका थिए। यसरी नै ‘कश्यप’ द्वारा रचित कविता र सङ्गीतकार जीवन शर्माद्वारा सङ्गीतवद्ध गीतलाई गायक गणेश ढुङ्गेलले प्रस्तुत गरेका थिए।

परिषद्की उपाध्यक्ष भक्ति शर्माको सञ्चालनमा सम्पन्न गरिएको यस कार्यक्रममा कश्यप प्रतिष्ठानका सदस्यहरू लगायत स्थानीय भाषा–साहित्यप्रेमीहरूको विशेष उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande