
अलवर, 16 फरवरी (हि.स.)
भिवाड़ीको खुशखेड़ा-कारोली क्षेत्रस्थित केमिकल तथा पटेका निर्माण गर्ने एक कारखानामा सोमबार बिहान अचानक भीषण आगलागी भएको छ। विस्फोट र आगोबीच काम गरिरहेका मजदुरहरूले जोगिनसमेत नपाएको बताइएको छ।
यस दुर्घटनामा हालसम्म सात जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। एक मजदुर अझै पनि कारखानाभित्र फसेको हुन सक्ने आशंका गरिएको छ। घटनापछि भिवाड़ी, खुशखेड़ा, तिजारा, धारूहेड़ा र रेवाड़ी लगायत स्थानबाट दमकल टोलीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका छन्।
मुख्यमन्त्री भजनलाल शर्माको निर्देशनमा वन तथा पर्यावरण मन्त्री संजय शर्मा विधानसभा भवनबाट घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ९:३० बजी ठूलो विस्फोटको आवाजसँगै आगोले सम्पूर्ण युनिटलाई आफ्नो चपेटामा लिएको थियो। कारखानामा ज्वलनशील रसायन तथा पटेका सामग्री भण्डारण गरिएकाले आगो तीव्र गतिमा फैलिएको थियो।
रीकोका अग्नि अधिकारी राजु खानका अनुसार, घटनास्थलबाट हालसम्म सात शव निकालिएका छन्। दुर्घटना अत्यन्त भयावह भएकाले केही शवहरू गम्भीर रूपमा जलेका छन्। उद्धार टोलीले शरीरका अंशहरू प्लास्टिक झोलामा संकलन गर्नुपरेको बताइएको छ। मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण गरिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन र पुलिसका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन्। घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। कारखानामा सुरक्षा मापदण्डको जाँच शुरु गरिएको छ र दुर्घटनाको कारण पत्ता लगाइँदैछ। प्रशासनले घटनाबारे उच्चस्तरीय छानबिनको आदेश दिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी