
वेल्लोर, 16 फरवरी (हि.स.)। बर्ड फ्लूको सम्भावित फैलावट रोक्न तमिलनाडु-आन्ध्र प्रदेश सीमामा सतर्कता कडा पारिएको छ। सीमा चेकपोस्टहरूमा आन्ध्र प्रदेशबाट आउने सवारीसाधनहरूमा कीटाणुनाशक औषधि छर्किने कार्य तीव्र बनाइएको छ र सघन जाँच भइरहेको छ।
गत महिना चेन्नईको अडयार क्षेत्रमा अचानक धेरै कागहरू मृत अवस्थामा भेटिएपछि नमुना परीक्षणका लागि भोपालस्थित राष्ट्रिय पशु रोग अनुसन्धान संस्थान पठाइएको थियो। परीक्षणमा कागहरूमा एच५एन१ एवियन इन्फ्लुएन्जा (बर्ड फ्लू) भाइरस संक्रमण पुष्टि भएको थियो।
परिस्थितिलाई मध्यनजर गर्दै तमिलनाडु सरकारले कडा कदम चालेको छ। छिमेकी आन्ध्र प्रदेशको चित्तूर जिल्लाका दुई पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएपछि निगरानी अझ कडा बनाइएको छ। जिल्लाका सात क्षेत्रमा प्रत्येकमा तीन टोलीका दरले कुल २१ विशेष निगरानी टोली गठन गरिएको छ, जसले पोल्ट्री फार्म, बजार र पक्षीको बढी आवादी भएका स्थानहरूमा निरीक्षण गरिरहेका छन्।
तमिलनाडु-आन्ध्र सीमाको कृष्टियनपेट, साइनागुंडा र पत्रापल्ली चेकपोस्टमा पशुपालन विभागका चिकित्सकहरूले आन्ध्र प्रदेशबाट वेल्लोर जिल्लामा प्रवेश गर्ने सबै सवारीसाधनको जाँच गरिरहेका छन्। कुखुरा, दाना तथा अण्डा बोकेका सवारीमा कीटाणुनाशक छर्किन अनिवार्य गरिएको छ। वैध कागजात नभएका वा शंकास्पद सामग्री भएका सवारीलाई फिर्ता पठाइँदैछ।
जिल्ला प्रशासनले वेल्लोर जिल्लामा अहिलेसम्म बर्ड फ्लूको कुनै पनि केस दर्ता नभएको स्पष्ट गरेको छ। सर्वसाधारणलाई मृत पक्षी नछुन र तुरुन्त नजिकैको पशु चिकित्सकलाई जानकारी दिन आग्रह गरिएको छ। स्वास्थ्य विभागले पनि दुर्लभ अवस्थामा यो संक्रमण मानिसमा सर्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी