कनेक्ट टु सीएम: मुख्यमन्त्रीले जन संवाद कार्यक्रमको अध्यक्षता गरे
कनेक्ट टु सीएम


बीपीएल परिवारहरू र आर्थिक रूपमा विपन्न वर्गहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध: मुख्यमन्त्री

गान्तोक, 10 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले 'कनेक्ट टु सीएम' पहल अन्तर्गत आज सम्मान भवनमा आयोजित मुख्यमन्त्री जन संवाद कार्यक्रमको अध्यक्षता गरे। आफ्नो किसिमको पहिलो यस पहलको उद्देश्य घरदैलोमा शासन पुर्‍याउनु रहेको बताइएको छ।

सीएमओका अनुसार, यो कार्यक्रम डीईएसएमई (डेस्मी) बीपीएल वर्गका परिवारहरू र आर्थिक रूपमा कमजोर वर्गका अन्य परिवारहरूलाई सहयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्दै सरकार र नागरिकहरूबीचको प्रत्यक्ष सञ्चारलाई सुदृढ़ पार्ने दिशामा महत्त्वपूर्ण रह्यो।

कार्यक्रम अन्तर्गत खण्ड विकास अधिकारीहरू (बीडीओहरू) र विभिन्न जिल्लाका लाभार्थीहरूसँग अर्थपूर्ण अन्तरक्रियालाई सहज बनाउँदै राज्यभरका ३४ खण्ड प्रशासनिक केन्द्रहरू (बीएसीहरू) भिडियो कन्फरेन्सिङ मार्फत जोडिएका थिए। मुख्यमन्त्रीसॅंग अन्तरक्रियाको क्रममा डेस्मी बीपीएल वर्गका धेरै लाभार्थीहरू, आर्थिक रूपमा कमजोर वर्गका अन्य धेरैले विभिन्न कल्याणकारी पहलहरू अन्तर्गत सहयोग प्राप्त गरे।

यसमा मुख्यमन्त्री चिकित्सा सहायता योजना, मुख्यमन्त्री विवेकाधीन अनुदान, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, सिक्किम गरीब आवास योजना, भूमिहीनहरूलाई जग्गा आवण्टन, गरिब विद्यार्थीहरूका लागि मुख्यमन्त्री शिक्षा सहायता योजना साथै सरकारी रोजगारीका अवसरहरू समावेश थिए।

मुख्यमन्त्रीले योग्य व्यक्तिहरूसम्म लाभ पुऱ्याउने उद्देश्यका साथ पारदर्शी प्रमाणीकरण प्रक्रिया मार्फत लाभार्थीहरूको छनोट गरिएको जानकारी गराए। लाभार्थीहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्रीले उनीहरूलाई आधिकारिक आदेश र सुविधाहरू एक हप्ताभित्र उनीहरूको सम्बन्धित बीएसीमा पठाइदिने आश्वासन दिए।

उनले सरकार बीपीएल परिवारहरू र आर्थिक रूपमा विपन्न वर्गहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए। उनले यस पहलको महत्वलाई प्रकाश पार्दै मुख्यमन्त्री जन संवाद जस्ता कार्यक्रमहरू प्रशासनिक अवरोधहरू कम गर्न, जनताको लागि खर्च न्यूनीकरण गर्न र सरकारी सेवाहरूलाई तल्लो तहमा अझ सुलभ बनाउन तयार गरिएको बताए।

मुख्यमन्त्रीले यस्ता कार्यक्रमहरू पारदर्शिता बढाउन, सेवा वितरणलाई सुदृढ़ पार्न र नागरिकहरूलाई सशक्त बनाउन प्रत्येक दुई महिनामा आयोजना गरिने पनि जानकारी गराए। लाभार्थीहरूको लागि थप सुविधा सुनिश्चित गर्न सम्बन्धित बीएसीहरूमा पनि यस्ता लाभहरूको वितरणलाई पनि सहज बनाइने उनले बताए।

सीएमओले जनाए अनुसार, १४ अक्टोबर, २०२५ मा शुरु गरिएको 'कनेक्ट टु सीएम' मञ्चले नागरिकहरूलाई गुनासो उठाउन, सहयोग खोज्न र सरकारसँग कुराकानी गर्न प्रत्यक्ष माध्यमको रूपमा काम गर्दछ। समयमै हस्तक्षेप र प्राप्त आवेदनहरूको तुरुन्त प्रतिक्रिया मार्फत यस मञ्चले प्रशासनिक अवरोधहरूका कारण उत्पन्न हुने गुनासोहरूलाई सम्बोधन र समाधान गर्न सक्षम भएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande