
पत्रकारहरूले भारतीय सेनाको साहस अनि समर्पणको प्रत्यक्ष अनुभव बटुले
गान्तोक, 10 मार्च (हि.स.)। पत्र सूचना कार्यालय (पीआईबी) शिलङको तत्परतामा हाल सिक्किमको अध्ययन भ्रमणमा रहेको 10 सदस्यीय मेघालयको मिडिया टोलीद्वारा पीआईबी गान्तोकको समन्वयनमा सामरिक रूपमा महत्त्वपूर्ण भारत-चीन सीमास्थित नथुला भञ्ज्याङको भ्रमण गरियो। यस भ्रमणले पत्रकारहरूलाई अति नै चुनौतीपूर्ण स्थितिमा राष्ट्रको सीमाको सुरक्षामा खटिएका भारतीय सेनाको साहस, समर्पण अनि त्यागको प्रत्यक्ष अनुभव बटुल्ने दुर्लभ अवसर प्रदान गरेको छ। टोलीका सदस्यहरूले पूर्वी हिमालयको 14,000 फीटभन्दा उँचाईमा रहेको भञ्ज्याङको यात्रा गरे। उक्त जानकारी आज पीआईबीले दिएको छ।
चिसो सिरेटो साथै चरम जलवायु स्थितिका साथै उच्च तुङ्गीय इलाकामा राष्ट्रको सीमाको सुरक्षा गर्न चौबीसै घण्टा तैनाथ भारतीय सेनाका जवानहरू खटिरहेका अतिथि पत्रकारहरूले प्रत्यक्ष अनुभव बटुले। विकट भौगोलिकता अनि कम अक्सिजनको मात्राले नियमित गतिविधिलाई पनि चुनौतीपूर्ण बनाउने गरेको भए तापनि, देशको सुरक्षा अनि सम्प्रभुता सुनिश्चित गर्न भारतीय सेना अटल रूपमा सतर्क रहने गर्दछ। भ्रमणमा पत्रकारहरूले भारतीय सेनाकर्मीसँग संवाद गरे जहाँ उनीहरूलाई परिचालन वातावरणका साथै भञ्ज्याङको सामरिक महत्त्वबारे अवगत गराइयो।
पत्रकाररूलाई नथुला भञ्ज्याङको ऐतिहासिक महत्त्वबारे पनि जानकारी गराइयो, जसले युगौंदेखि भारत र तिब्बतलाई जोड्ने प्राचीन रेशम मार्गका रूपमा सेवा पुऱ्याउँदै आएको थियो। ऐतिहासिक रूपमा यस मार्गले भारतीय उपमहाद्वीप र मध्य एशियाबीच व्यापार अनि सांस्कृतिक विनिमय सुगम बनाउँदै आएको थियो जहाँ ऊन, रेशम अनि मसला लगायतका वस्तुहरू काफिलाका साथ ढुवानी गरिन्थ्यो।
हालका वर्षमा तिब्बतस्थित कैलाश पर्वत अनि मानसरोवर तालको निम्ति कैलाश-मानसरोवर यात्रा गर्न चाहने भारतीय तीर्थार्थीहरूको एउटा मार्गका रूपमा यस भञ्ज्याङले महत्त्व सिल गरेको छ। नथुला मार्गले तीर्थार्थीहरूलाई तीर्थाटनको निम्ति सापेक्ष रूपमा सुगम मार्ग प्रदान गर्दै यस भञ्ज्याङको सांस्कृतिक अनि सामरिक महत्त्वलाई अझ बढाएको छ।
सेनाका अधिकारीहरूले भारतको स्वतन्त्रतापछि यस भञ्ज्यासित सम्बन्धित विकासक्रमबारे पनि अवगत गराए। सामरिक रूपमा महत्त्वपूर्ण रहेको यस भञ्ज्याङमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले पनि भ्रमण गर्दै क्षेत्रमा राष्ट्रिय सुरक्षा अनि सीमा पूर्वाधारको सुदृढिकरणमाथि भारत सरकारको ध्यान रेखाङ्कित गरिएको पनि पत्रकारहरूलाई जानकारी गराए।
मनोरम भूदृश्य, ऐतिहासिक विरासत अनि सामरिक महत्त्वद्वारा आकर्षित हुँदै धेरै सङ्ख्यामा पर्यटकहरू आउने गरेको पनि पत्रकारहरूले अनुभव गरे। चुनौतीपूर्ण भौगोलिकता अनि उच्च तुङ्गीय स्थिति भए तापनि भारतको अति नै प्रतिष्ठित सीमा क्षेत्रको साक्षी बन्न देशभरीका पर्यटकलाई यस भञ्ज्याङले आकर्षित गर्ने गर्दछ।
अतिथि पत्रकारहरूले यस भ्रमणले गहिरो प्रभाव पारेको उल्लेख गर्दै आफ्नो अनुभव सुखद अनि प्रेरक रहेको बताए। हिउँले ढाकिएका पर्वत शृङ्खला, चरम मौसम अनि आफ्नो कर्तव्यपालनमा समर्पित सेनाका जवानहरूको साक्षी बन्नपाउँदा राष्ट्रको सीमा सुरक्षामा भारतीय सेनाको साहस, प्रत्यास्था अनि त्यागको गहन प्रशंसा टोलीका सदस्यहरूले गरे।
हिन्दुस्थान समाचार / बिशाल