
खरसाङ, 10 मार्च (हि.स.)। खरसाङको नयाँ बजार राजबारीस्थित रानीकूप नारी प्रगति संस्थाको आयोजनमा अन्तरराष्ट्रिय महिला दिवस पालन गरियो। संस्थाकी पूर्व अध्यक्ष हिरा दर्नालको अध्यक्षतामा आयोजित कार्यक्रमको शुरूवात संस्थाका दिवंगत संस्थापक सदस्यहरूको स्मृतिमा 108 वटा बत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि संस्थाकी वरिष्ठ संस्थापक सदस्य कुमारी थापा अनि दिव्य ज्योति संघकी उपाध्यक्ष लिलु छेत्री उपस्थित थिए। शिक्षिका परिणीती ठटालले महिला दिवस किन र कहिलेदेखि मनाउन थालिएको भन्ने विषयमा छौटकरीमा जानकारी गराइन्। यस वर्षको महिला दिवसको विषयवस्तु 'गिभ टु गेन' सन्दर्भमा बोल्दै समाजमा छोरी अर्थात महिलाहरूलाई अवसर प्रदान गरिएको खण्डमा समाजले कस्ता उपलब्धिहरू हासिल गरेर सशक्त समाजको निर्माण गर्न सक्छ भन्ने विषयमा प्रणिता मुखियाले सम्बोधन राखिन्।
यस अवसरमा संस्थाका विभिन्न उमेर समूहका सदस्यहरूका निमित्त मनोरञ्जन्तामक खेलहरूको आयोजन गरिएको थियो।सहभागीहरूले उत्साहपूर्वक भाग लिँदै कार्यक्रमलाई थप रमाइलो र उत्साहजनक बनाए। यस कार्यक्रमले सदस्यहरूबीच आपसी एकता सहयोग र सशक्तिकरणको सन्देश फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजक समितिले जनाएको छ।
हिन्दुस्थान समाचार / हनोक