मुख्यमन्त्री तामाङसँग सिक्किम अकादेमी प्रतिनिधिमण्डलको भेट
मुख्यमन्त्री तामाङसँग सिक्किम अकादेमी प्रतिनिधिमण्डलको भेट


‘सिक्किम लिटरेचर फेस्टिवल’ का लागि कोष उपलब्ध गराउने प्रतिबद्धता

गान्तोक, 10 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिङ तामाङसँग सोमवार उनको सरकारी बासस्थानमा सिक्किम अकादेमीका प्रतिनिधिमण्डलले औपचारिक भेटघाट गरेको छ। अकादेमीको तर्फबाट अध्यक्ष प्रवीण राई जुमेली, महासचिव पूर्ण योन्जन, प्रशासनिक सचिव पीएल शर्मा तथा साहित्य सचिव प्रद्युम्न श्रेष्ठ उपस्थित थिए।

भेटका क्रममा अध्यक्ष प्रवीण राई जुमेलीले सन् २०२६ देखि २०२९ सम्म अकादेमीद्वारा सञ्चालन गरिने विभिन्न कार्यक्रमबारे मुख्यमन्त्रीलाई संक्षिप्त जानकारी गराए। उनले अकादेमीका नियमित कार्यक्रमहरू, अकादेमी जर्नल प्रकाशन, पदमसिँह सुब्बा व्याख्यानमाला, सिक्किम अकादेमी अवार्ड तथा जीवन थिङ स्मृति कवि गोष्ठी-सहित अन्य नयाँ कार्यक्रमहरू पनि आयोजना गरिने जानकारी दिए।

योजनाअनुसार, आर्टिफिसियल इन्टेलिजेन्स विषयमा प्यानल तथा सेमिनार, चित्रकला कार्यशाला, सिक्किमका मान्यता-प्राप्त भाषाहरू र म्युजियोलोजीसम्बन्धी सेमिनार, कोहा तथा पुस्तकहरूको डिजिटाइजेसनसम्बन्धी कार्यक्रम, कवि सम्मेलन तथा पुस्तक चर्चा जस्ता गतिविधिहरू सञ्चालन गरिनेछन्। यी कार्यक्रमहरू विभिन्न जिल्ला तथा महकुमा स्तरमा स्थानीय सङ्घ-संस्थाहरूको लोजिस्टिक सहयोगमा सम्पन्न गरिने जनाइएको छ।

यसैबीच, अतिरिक्त कोष उपलब्ध भएमा हरेक वर्ष ‘सिक्किम लिटरेचर फेस्टिवल’ आयोजना गर्ने प्रस्ताव पनि अकादेमीले प्रस्तुत गरेको थियो। उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री तामाङले आवश्यक कोष उपलब्ध गराउने वाचा गरेका छन्। प्रतिनिधिमण्डलले सामाजिक धरोहररूको डकुमेन्टेसन, सन्दर्भ पुस्तकहरूको अडियोबुक निर्माण तथा अप्राप्त पुस्तकहरूको पुनः प्रकाशन गर्ने योजनाबारे पनि जानकारी दियो।

सो क्रममा जीवन थिङको ‘साङ्लीभित्र बाँधिएका घोँड़ाका टापहरू’, केबी लिम्बूको ‘मेरो जीवनी मेरै लागि’ तथा एलबी बस्नेतको ‘धर्मछाड़ा’ पुनः प्रकाशन गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। मुख्यमन्त्रीले यस कार्यका लागि पनि आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाएका छन्। यसका साथै मुख्यमन्त्री तामाङले अकादेमीलाई दीर्घकालीन आर्थिक सुदृढीकरणका लागि कर्पस फन्ड उपलब्ध गराउने आश्वासन समेत दिएको छ।

उल्लेखनीय छ, अकादेमीको जेनेरल काउन्सिल, एक्जिक्युटिव बोर्ड र फाइनान्स कमिटी गठन भएपछि प्रस्तावित कार्यक्रमहरूलाई थप गतिशीलता दिइनेछ भनि आकादेमीले जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande