
गेजिङ, 10 मार्च (हि.स.)। लिङ्चोम-गेजिङ सडक मार्गअन्तर्गत तिक्जेक छाँगा नजिक रहेको गहिरो खाडलले जनसुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको विषय सार्वजनिक भएपछि जिल्ला प्रशासन गेजिङले तुरुन्तै निरीक्षण गर्दै सुरक्षात्मक उपाय अपनाएको छ। प्रशासनको पहलमा उक्त स्थानमा अस्थायी रूपमा फलामे सुरक्षा बार जडान गरिएको छ।
उक्त खाडल करिब २०१५-१६ तिर पावर परियोजना निर्माणका क्रममा कोस्टल कम्पनी तथा गेमन इन्डिया कम्पनीद्वारा खनिएको बताइन्छ। परियोजना अधुरै अवस्थामा छोडिएपछि वर्षौँदेखि खाडल यथावत् रहँदा स्थानीय बासिन्दाहरू त्रसित हुँदै आएका थिए। सडक किनारमै अवस्थित गहिरो खाडलमा न त सुरक्षात्मक बार थियो न चेताउनी सूचनापट्ट, जसले दुर्घटनाको जोखिम बढाएको थियो।
समाचारमार्फत विषय सार्वजनिक भएपछि जिल्ला प्रशासनले तत्काल स्थल निरीक्षण गरी जनसुरक्षालाई ध्यानमा राख्दै खाडल वरिपरि अस्थायी फलामे बार जडान गरेको हो। प्रशासनको यस तदारुकतापूर्ण कदमप्रति स्थानीयवासीहरूले आभार व्यक्त गरेका छन्। उनीहरूले समयमै पहल गरेर सम्भावित दुर्घटना टार्न सहयोग पुगेको बताएका छन्।
अर्कातिर, स्थानीयवासीहरूले लिङ्चोम-गेजिङ सडकखण्डअन्तर्गत करिब आधा किलोमिटर लामो टिक्जेक भिरमा अझै सुरक्षात्मक बारको अभाव रहेकोतर्फ ध्यानाकर्षण गराएका छन्। दैनिक रूपमा विद्यार्थी, सर्वसाधारण तथा सवारी साधनहरू आवत-जावत गर्ने यस मार्गमा थप सुरक्षा उपाय आवश्यक रहेको उनीहरूको भनाइ छ।
यसै सन्दर्भमा स्थानीयहरूले उक्त भिर क्षेत्रमा पनि बलियो सुरक्षा बार जडान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूका अनुसार, जनसुरक्षालाई प्राथमिकतामा राख्दै बाँकी जोखिमयुक्त स्थानहरूमा पनि यथाशीघ्र सुरक्षात्मक व्यवस्था गरिएमा भविष्यमा सम्भावित दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्नेछ।
हिन्दुस्थान समाचार / बिशाल