
गान्तोक, 12 मार्च (हि.स.)। सिक्किम स्पोर्ट्स क्लाइम्बिङ एसोसिएशन (एसएससीए) ले बिहिबार मुख्य सचिव आर. तेलाङसँग भेट गरी सिक्किममा प्रस्तावित मेगा स्पोर्ट्स भिलेज / एकीकृत सांस्कृतिक तथा खेल पूर्वाधार परियोजना अन्तर्गत अन्तरराष्ट्रिय स्तरको स्पोर्ट्स क्लाइम्बिङ सुविधा स्थापना गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
प्रतिनिधिमण्डलको नेतृत्व एसएससीएका अध्यक्ष कुन्जाङ ग्याछो भुटिया ले गरेका थिए। उनीसँगै उपाध्यक्ष प्रवीण खालिङ, महासचिव भाइचुङ योञ्जन तथा एसोसिएशनका कार्यकारी सदस्यहरू पनि उपस्थित थिए।
ज्ञापनपत्रमा एसोसिएशनले राज्यका युवामाझ स्पोर्ट्स क्लाइम्बिङप्रति बढ्दो रुचि र प्रशिक्षण तथा प्रतियोगिताका लागि उपयुक्त पूर्वाधारको आवश्यकतामाथि जोड दिएको छ। एसएससीएले स्पोर्ट्स क्लाइम्बिङ अहिले ओलम्पिक खेल भइसकेको उल्लेख गर्दै सिक्किममा आधुनिक क्लाइम्बिङ सुविधा विकास गर्नु अत्यन्त आवश्यक भएको बताएको छ।
मुख्य सचिव आर. तेलाङले प्रतिनिधिमण्डललाई यस प्रस्तावलाई सरकारले सकारात्मक रूपमा विचार गर्ने आश्वासन दिएका छन्।
एसोसिएसनका अनुसार, प्रस्तावित सुविधामा ओलम्पिक स्तरका लिड र स्पीड क्लाइम्बिङ वाल, बोल्डरिङ वाल, प्रशिक्षण क्षेत्र तथा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार समावेश गरिनेछ। यसले सिक्किममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहयोग पुग्नेछ र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल