
जलपाईगुड़ी, 12 मार्च (हि.स.)। भान्सा ग्यासको आपूर्तिमा अनियमितता तथा लगातार बढ़्दो मूल्यको विरोधमा तृणमूल कंग्रेसले बिहीवार विरोध प्रदर्शन गऱ्यो। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत बिन्नागुड़ी अञ्चल तृणमूल कंग्रेसद्वारा आमबाड़ीस्थित एक एलपीजी ग्यास गोदाम सामु धरना प्रदर्शन गरियो।
यस प्रदर्शनमा बिन्नागुड़ी ग्राम पञ्चायतका प्रधान समिजुद्दीन अहमद, अञ्चल अध्यक्ष प्रफुल्ल राय, अञ्चलका चेयरम्यान दीपेन अधिकारी, ब्लक कमिटी सदस्य समेत ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।
तृणमूल नेताहरूको आरोप छ, भान्सा ग्यासको लगातार बढ़्दो मूल्य तथा आपूर्तिमा अनियमितताको कारणले आम मानिसहरूले विविध समस्याको सामना गर्न परिरहेको छ। यसैको विरोधमा यो कार्यक्रम आयोजना गरिएको हो।
भनिन्छ, राज्य नेतृत्वको निर्देशमा सम्पूर्ण पश्चिम बंगालभरि विभिन्न ब्लकका ग्यास गोदामहरू अगाड़ि यसरी नै धरना प्रदर्शन गरिँदैछ। सोही अनुरूप राजगञ्ज ब्लकका विभिन्न ग्राम पञ्चायत क्षेत्रहरूमा अवस्थित ग्यास गोदामहरू सामु तृणमूलद्वारा धरना प्रदर्शन गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा