
गान्तोक, 13 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले सोच्यागाङको एसटीएनएम अस्पतालमा हालै एक पत्रकारमाथि भएको कथित दुर्व्यवहारको मुद्दा गान्तोक जिल्लाका पुलिस अधीक्षक समक्ष उठाएको छ। उक्त घटनाको सम्बन्धमा पुलिस अधीक्षकले जॉंच गर्ने मौखिक आश्वासन दिएको भाजपा सिक्किमले प्रेस बयानमा बताएको छ।
भाजपा सिक्किमका प्रवक्ता साङ्गे ग्याछो भोटियाले आज गान्तोक जिल्लाका पुलिस अधीक्षक (एसपी) लाई भेटेर हालै एक पुलिस अधिकारीले एक पत्रकारलाई सार्वजनिक स्थानमा आफ्नो कर्तव्य पालना गर्नबाट रोक लगाएको विषय उठाउॅंदै यस सम्बन्धमा विभागको स्पष्टीकरण माग गरे। साथै, उनले के पुलिस विभागले अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारलाई सम्मान गर्छ र के कुनै खास कानुनी प्रावधान वा विभागीय स्थायी आदेशहरू छन्, जसले पत्रकारलाई सार्वजनिक क्षेत्रमा रिपोर्ट गर्नुअघि पूर्व अनुमति लिन अनिवार्य गर्दछ? भनी प्रश्नहरू तेर्साए।
यसका जवाफमा पुलिस अधीक्षकले अभिव्यक्तिको स्वतन्त्रतामा आफ्नो दृढ़ विश्वास अनि लोकतन्त्रको चौथो स्तम्भको रूपमा मिडिया समुदायप्रति उच्च सम्मान व्यक्त गरेको प्रेस बयानमा बताइएको छ। यसैगरी, पुलिस अधीक्षकले प्रेसको कुनै पनि सदस्यलाई आफ्नो कर्तव्य निर्वाह गर्दा अवरोध गर्न कुनै आदेश वा निर्देशन जारी गरेको छैन भनी स्पष्ट गरेको पनि जनाइएको छ। उनले यस सम्बन्धमा पुलिस अधीक्षकले जॉंच गर्ने मौखिक आश्वासन दिएको प्रेस बयानमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल