
गान्तोक, 13 मार्च (हि.स.)। दार्जिलिङका एक वरिष्ठ राजनीतिक बिनय तामाङले सिक्किममा प्रस्तावित विशेष गहन पुनरीक्षण अथवा एसआईआरलाई लिएर सिक्किम सरकार, राजनीतिक दलहरू र सर्वसाधारण जनतालाई सतर्क गराएका छन्। उनले एसआईआर प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि वा असावधानीले सिक्किमको जनसांख्यिकीय संरचना र यहाँका मूलवासीहरूको पहिचानमा आँच पुग्न सक्ने सम्भावना व्यक्त गरेका छन्।
तामाङले आज जारी आफ्नो एक प्रेस बयानमा यस आसयको जानकारी गराएका छन्। उनले भारतको निर्वाचन आयोगले पश्चिम बङ्गालमा हालै गराएको एसआईआरले जटिल परिस्थिति सृजना भएको र यसको नकारात्मक असर नेपाली भाषी गोर्खाजातिमाथि पनि परेको अवगत गराएका छन्। यस्तै समस्याको शिकार सिक्किमे जनता नहोस् भन्ने चाहन्छु भन्दै उनले सिक्किमको विशिष्ट ऐतिहासिक र संवैधानिक पृष्ठभुमिले गर्दा यसलाई अत्यन्तै सतर्कताका साथ हेर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
उनले धारा 371(एफ) को संरक्षणमाथि जोड दिॅंदै एसआईआर प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि वा असावधानीले सिक्किमको जनसांख्यिकीय संरचना र यहाँका 'ओल्ड सेटलर्स' तथा 'सिक्किमे' पहिचानमा आँच पुग्ने खतरा रहने औंल्याएका छन्। उनले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्दा वा नाम हटाउँदा सिक्किमको विशेष कानुन र मापदण्डहरूलाई पूर्ण रूपमा पालन गरिएको छ कि छैन भन्ने सुनिश्चित गर्न सुक्ष्म निगरानीको आवश्यकतामा जोड दिएका छन्।
यसैगरी, उनले सिक्किमका सचेत नागरिकहरूले आफ्नो र आफ्नो परिवारको विवरण सही रहेको सुनिश्चित गर्नुका साथै कुनै पनि गैर-सिक्किमे वा अयोग्य व्यक्तिको घुसपैठ मतदाता सूचीमा नहोस् भनी सजग गराएका छन्। तामाङले यो कुनै दल विशेषको मात्र मुद्दा नभई सिक्किमको भविष्य र अस्मिताको प्रश्न रहेको उल्लेख गर्दै सत्ता पक्ष र विपक्ष दुवैले दलीय स्वार्थभन्दा माथि उठेर धारा 371(एफ) को मर्मलाई बचाउन एउटै स्वरमा काम गर्नु आजको आवश्यकता रहेको बताएका छन्।
अर्कातिर, तामाङले सिक्किमको संवेदनशीलतालाई बुझेर निर्वाचन आयोगले पनि यस प्रक्रियामा पारदर्शी र न्यायसंगत ढंगले कार्य गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्। उनले 'सतर्कता नै सुरक्षा हो' भन्ने कुरालाई आत्मसात गर्दै सिक्किमको सुरक्षा कवचलाई कमजोर हुन नदिन सबैले बुझ्नु समयको माग रहेको विचार व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल