
गान्तोक, 14 मार्च (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको जिल्ला स्तरीय समन्वय सभा आज पार्टीका जिल्ला कार्यकारिणी परिषदका अध्यक्ष डीबी स्टीफन गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टीका आगामी कार्यक्रमहरू तथा रणनीतिहरूबारे व्यापक छलफल भएको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो अध्यक्षीय सम्बोधनमा डीबी स्टीफन गुरुङले राज्यको प्रगति र सुशासनका लागि सत्तापक्ष इमानदार नदेखिएको तथा राज्यको स्रोतसाधन केही सीमित व्यक्तिहरूको प्रगतिमा मात्र केन्द्रित भएको आरोप लगाए। उनले जनसाधारण आधारभूत सुविधाबाट समेत वञ्चित रहेको र राजनीतिक पूर्वाग्रहका कारण विभिन्न समस्याहरू भोग्नुपरेको बताए। सीएपीले कुनै पनि परिस्थितिमा भ्रष्टाचार अन्त्य गर्दै राज्यवासीहरूको हक र अधिकारको रक्षा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
सभालाई पार्टीका वरिष्ठ नेताहरू सन्जु राई, ओङ्देन लेप्चा, सोनाम वाङ्गेल भोटिया र किरण जिम्बाले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल