
गान्तोक, 15 मार्च (हि.स.)। आइतवार सॉंझ अचानक आएको आँधीबेहरी र असिना-पानीले सिक्किम राज्यका विभिन्न ठाउॅंहरूमा जनधनलाई ठूलो क्षति पुऱ्याएको छ। गान्तोक जिल्लाको राक्दोङमा एउटा रुख ढलेर एक 55 वर्षीय महिलाको मृत्यु भएको छ। यसैगरी, छोटा सिङताममा एउटा वाहनमाथि रुख ढल्दा चारजना यात्री घाइते भएका छन्।
विगत केही दिनदेखि राज्यमा रोकिॅंदै पानी पर्ने क्रम जारी रहेको छ। यस बीच आज सॉंझ अचानक आँधीबेहरी र असिना-पानीले राज्यका विभिन्न ठाउॅंहरूमा जनधनलाई निकै क्षति पुऱ्यायो। गान्तोक जिल्लाको तुमिन लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत राक्दोङ कफेरमा एउटा रुख ढल्दा एक 55 वर्षीय महिला कलादेवी छेत्रीको मृत्यु भएको छ। रुख ढलेर टाउकोमा लाग्दा महिलाको मृत्यु भएको गान्तोकका जिल्लापालले सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
यसरी नै पाकिम पुलिस थाना क्षेत्र अन्तर्गत छोटा सिङताममा एउटा यात्रुवाहक सवारी साधनमाथि रुख ढल्दा चारजना यात्री घाइते भएका छन्। उनीहरूलाई सामान्य चोट लागेको र अहिले उनीहरूको मणिपाल अस्पतालमा उपचार चलिरहेको छ। रुखले वाहनलाई निकै क्षति पुऱ्याएको छ।
यसैगरी, गान्तोक जिल्लाका विभिन्न ठाउॅंहरूमा रुख ढलेर मानिसहरूको घरलाई क्षति पुऱ्याएको जानकारी पनि जिल्लापालले साझा गरेका छन्। राष्ट्रिय राजमार्ग अन्तर्गत रानीपुलदेखि गान्तोकसम्म विभिन्न ठाउॅंमा रुखहरू ढलेर वाहनहरूको आवागमन अवरुद्ध भएका छन्। यी रुखहरूले सडक किनारका वाहनहरूलाई पनि क्षति पुऱ्याएका छन्।
नान्डोक माले गाउॅंमा आँधीबेहरीले चारजनाको घरको छत उडाएको बताइएको छ। रुखहरू ढलेर बिजुलीका पोस्ट र तारमा लाग्दा ठाउॅं-ठाउॅंमा बिजुली आपूर्ति पनि प्रभावित बनेका छन्।
जिल्लापालले सम्बन्धित अधिकारीहरूलाई सहज यातायात सुनिश्चित गर्न, विद्युत आपूर्ति पुनर्स्थापित गर्न र राहत कार्यहरू सञ्चालन गर्न निर्देशन दिएको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल