
नयाँ दिल्ली, 16 मार्च (हि.स.)। केन्द्रिय सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले डाक विभागको ‘२४ स्पीड पोस्ट’ सेवाको मंगलबार १७ मार्चमा शुभारम्भ गर्नेछन्। यस अन्तर्गत अत्यावश्यक पार्सलहरू अर्को दिनभित्र पुर्याउने वाचा गरिएको छ। पहिलो चरणमा यो सेवा देशका ६ ठूला सहरहरूमा शुरु गरिनेछ। केन्द्रिय सञ्चार मन्त्रालयले सोमबार जानकारी दिए अनुसार, ‘२४ स्पीड पोस्ट’ सेवा अन्तर्गत अत्यन्त जरुरी र समयबद्ध पार्सलहरूको अर्को दिन ग्यारेन्टीका साथ डेलिभरी सुनिश्चित गरिनेछ। नयाँ दिल्लीमा आयोजित कार्यक्रममा सञ्चार राज्यमन्त्री चन्द्रशेखर पेम्मासानी पनि उपस्थित हुनुहुनेछ। सरकारका अनुसार, यो सेवा पहिलो चरणमा दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, बेङलुरु र हैदराबादमा शुरु गरिनेछ। साथै, ‘२४’ र ‘४८ स्पीड पोस्ट’ सेवाहरूले क्रमशः डी+1 (पठाएको भोलिपल्टै) र डी+2 (पठाएको दुई दिनभित्र) डेलिभरी समयसीमा सुनिश्चित गर्नेछन्। यी सेवाहरूलाई विशेष प्रोसेसिङ विन्डो र प्राथमिकताका साथ हवाई ढुवानी व्यवस्थाद्वारा सक्षम बनाइएको छ। नयाँ सेवामा ओटीपी आधारित सुरक्षित डेलिभरी, एन्ड-टू-एन्ड ट्र्याकिङका साथ एसएमएस अलर्ट, व्यावसायिक ग्राहकहरूका लागि 'अहिले लिनुहोस्, पछि तिर्नुहोस्' (बीएनपीएल) सुविधा, थोक बुकिङका लागि निःशुल्क पिकअप, एपीआई इन्टिग्रेसन र केन्द्रीकृत बिलिङ जस्ता सुविधाहरू समावेश हुनेछन्। यदि डेलिभरीमा ढिलाई भएमा ग्राहकहरूलाई 'मनी-ब्याक ग्यारेन्टी' (रकम फिर्ता) समेत दिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी