
वाराणसी, 16 मार्च (हि.स.)। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले सोमबार यहाँ गङ्गा नदीमा आफ्नी आमाको अस्तु विधि-विधानपूर्वक विसर्जन गरेकी छिन्। बलिउड अभिनेत्री ज्याकलिनले भनिन्, उनी मनैदेखि धार्मिक छिन् र सोही कारणले आमाको अस्तु गङ्गाको बीच धारामा विसर्जन गरेकी हुन्। वाराणसीमा धार्मिक वातावरण रहेको र यहाँ मोक्ष प्राप्त हुने विश्वास उनले व्यक्त गरिन्। उनले गङ्गा नदीको किनारमा शान्ति मिल्ने पनि बताइन्।
अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको अस्तुको विधि-विधानपूर्वक विसर्जन आचार्य विकास पाण्डेयले गराएका थिए। अभिनेत्रीले गङ्गा किनारबाट एउटा नाउ लिएर त्यहीँ बसेर वैदिक मन्त्रोच्चारणका साथ अनुष्ठान सम्पन्न गरिन्। केही बेर गङ्गाको तटमा बसेपछि ज्याकलिन ताज होटलका लागि प्रस्थान गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी