
नयाँ दिल्ली, १६ मार्च (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ओडिशाको कटकस्थित अस्पतालमा लागेको आगलागी घटनामा मानिसहरूको मृत्यु भएकोमा गहिरो शोक व्यक्त गरेका छन्। उनीहरूले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्रीले मृतकका परिवारलाई अनुग्रह राशि दिने घोषणा पनि गरेका छन्।
राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल एक्समा सन्देश लेख्दै कटकको एक अस्पतालमा भएको दुःखद आगलागी घटनामा मानिसहरूको मृत्यु भएकोमा आफू अत्यन्त दुःखी भएको बताएकी छन्। उनले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
उपराष्ट्रपति राधाकृष्णनले पनि यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कटकको अस्पतालमा भएको दुःखद आगलागी घटनामा अमूल्य जीवनको क्षति भएकोमा आफू अत्यन्त मर्माहत भएको बताएका छन्। उनले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको चाँडो स्वास्थ्यलाभको प्रार्थना गरेका छन्।
प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा कटकस्थित अस्पतालमा भएको दुर्घटना अत्यन्त पीडादायक भएको बताएका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आश्रितलाई दुई लाख रुपियाँ र प्रत्येक घाइतेलाई ५० हजार रुपियाँ अनुग्रह सहायता दिने घोषणा गरेका छन्।
उल्लेखनीय छ, ओडिशाको कटकस्थित एससीबी मेडिकल कलेज एण्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी