एलपीजी संकटलाई लिएर राज्यसभामा सत्तापक्ष र प्रतिपक्षबीच तीखो भनाभन
एलपीजी संकटलाई लिएर राज्यसभामा सत्तापक्ष र प्रतिपक्षबीच तीखो भनाभन


नयाँ दिल्ली, 16 मार्च (हि.स.)। देशमा लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) को उपलब्धता र मूल्यको मुद्दालाई लिएर सोमबार राज्यसभामा सत्तापक्ष र प्रतिपक्षबीच तीखो भनाभन भएको छ।

राज्यसभामा विपक्षी दलका नेता एवं कांग्रेस अध्यक्ष मल्लार्जुन खरगेले पश्चिम एसियामा जारी संघर्षका कारण देशमा एलपीजी आपूर्ति प्रभावित भएको मुद्दा उठाए। यसै क्रममा संसदीय कार्यमन्त्री किरेन रिजिजूले उनलाई बीचमा रोकेपछि सदनको माहोल केही बेर तातिएको थियो।

खरगेले भने, पश्चिम एसियामा जारी तनाउका कारण देशमा एलपीजी संकटको स्थिति सिर्जना भएको छ। भारतले आफ्नो कुल एलपीजी आवश्यकताको लगभग ६० प्रतिशत आयात गर्छ र त्यसको करिब ९० प्रतिशत आपूर्ति होर्मुज स्ट्रेटको मार्गबाट हुन्छ। यस्तो अवस्थामा स्थिति बिग्रँदा देशका धेरै भागमा आम जनता, होटल, रेस्टुरेन्ट र होस्टलसहित विभिन्न क्षेत्रमा समस्या बढेको छ।

उनले थपे, धेरै ठाउँमा एलपीजी सिलिन्डरको मूल्य ५,००० रुपियाँभन्दा माथि पुगेको छ। पेट्रोलियम मन्त्रीले लोकसभामा देशमा एलपीजीको कुनै अभाव नरहेको दाबी गर्दै अफवाहबाट बच्न आग्रह गरे, तर वास्तविकता भने फरक देखिएको उनले बताए।

खरगेले आरोप लगाए, जब पश्चिम एसियामा संघर्ष बढेको थियो, तब सरकारले भारतीय नागरिकहरूका लागि 'एडभाइजरी' जारी गरेको थियो। त्यसबेला नै सरकारलाई ऊर्जा आपूर्तिमा असर पर्न सक्छ भन्ने थाहा भए तापनि पर्याप्त तयारी गरिएन।

उनका अनुसार, शहरहरूमा एलपीजी सिलिन्डर बुकिङको पर्खाइ समय २५ दिन र ग्रामीण तथा दुर्गम क्षेत्रमा ४५ दिनसम्म पुगेको छ, जसले गर्दा 'प्यानिक बुकिङ' र कालोबजारीको आशंका बढेको छ। उनले सरकारसँग यस विषयमा तत्काल ठोस कदम चाल्न र सर्वसाधारण तथा साना व्यापारीहरूलाई सुलभ दरमा एलपीजी उपलब्ध गराउन माग गरे।

यसको जवाफमा राज्यसभामा सदनका नेता जगत प्रकाश नड्डाले भने, प्रतिपक्ष विशेष गरी कांग्रेसले विपत्तिको समयमा पनि राजनीति गरेको देख्दा दुःख लागेको छ। उनले अन्तरराष्ट्रिय स्तरमा उत्पन्न भएको यो समस्या भारतका कारण नभएको र यस मुद्दामा पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले पहिले नै सदनमा विस्तृत जानकारी दिइसकेको बताए।

नड्डाले ग्यास सिलिन्डरको कालोबजारीको मामिलामा कांग्रेसका एक नेता पक्राउ परेको आरोप समेत लगाए। उनले यस्तो संकटको समयमा सबै मिलेर देशको साथमा उभिनुपर्नेमा कांग्रेसले यस मुद्दामा राजनीति गर्नु दुर्भाग्यपूर्ण रहेको बताए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande