
विपक्षमा बस्नु सत्तालाई गाली गर्नु मात्र रहेछ- अनित थापा
खरसाङ, 17 मार्च (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी सक्रिय नेत्री एवं मिरिकको पाइला गाउँ पञ्चायत समिति वार्ड नम्बर 2 लोवर स्कूल डाँडा ग्राम पञ्चायतकी सदस्य सोनिया तामाङ आफ्नो गाउँका बासिन्दाहरूको समर्थनसहित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा औपचारिक रूपमा प्रवेश गरेको दाबी गरिएको छ। सभासद मिलेस राईको नेतृत्व तथा पार्टी नेतृत्वद्वारा दलीय झण्डा भेट गरी उनलाई पार्टीमा स्वागत गरिएको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले क्षेत्रमा सेवा गर्नका लागि सत्तासँग मिलेर काम गर्नु नै उचित रहेछ भन्ने कुरा सोनियाले बुझेको बताए। उनले भने, विपक्षमा बसेर केवल सत्तालाई गाली गर्नु र दोष थोपर्नुले जनताको कुनै भलो हुँदैन। भागोप्रमो रचनात्मक राजनीतिमा विश्वास राख्छ।
पार्टीमा प्रवेश गरेपछि सोनिया तामाङले भनिन्, मैले ग्राम पञ्चायत सदस्यको हैसियतमा आफ्नो सामर्थ्य अनुसार गाउँका लागि काम गर्दै आएकी छु। गाउँका सम्पूर्ण बासिन्दाहरूसँग छलफल गरी हामी सबैले एकमतले बीजीपीएमलाई समर्थन जनाउने निर्णय गरेका हौं। अब बीजीपीएमको छत्रछायामा रहेर गाउँको विकासका लागि झन् बढी र प्रभावकारी काम गर्नेछौं।
हिन्दुस्थान समाचार / हनोक