राजनीतिमा 'फुल स्टप' हुँदैन, जनसेवा सदन बाहिर पनि जारी रहन्छ: प्रधानमन्त्री
Modi


नयाँ दिल्ली, १८ मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अप्रेलदेखि जुलाईसम्ममा सेवानिवृत्त भइरहेका राज्यसभाका ५९ सदस्यहरूलाई बिदाइ दिँदै राजनीतिमा कहिल्यै 'पूर्ण विराम' हुँदैन र जनसेवाको काम सदन बाहिर पनि निरन्तर चलिरहन्छ भनी बताए। उनले भने, संसद कानून बनाउने मञ्च मात्र होइन, तर एक 'ओपन युनिभर्सिटी' हो जहाँ हरेक सदस्यलाई सिक्ने, विचार साझा गर्ने र आफूलाई विकास गर्ने अवसर प्राप्त हुन्छ।

राज्यसभामा आयोजित बिदाई समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, सदनमा विभिन्न विषयहरूमा हुने छलफलमा हरेक सदस्यको महत्वपूर्ण योगदान हुन्छ। उनले कार्यकालका क्रममा तिता-मिठा अनुभवहरू पनि आउँछन् भन्ने स्वीकार गर्दै भने, बिदाइको समयमा सबै दलगत सीमाभन्दा माथि उठेर एकै भावना व्यक्त गरिन्छ।प्रधानमन्त्रीले भने, बिदाई लिइरहेका केही सदस्यहरू भविष्यमा फेरि सदनमा फर्किन सक्छन् भने केहीले आफ्ना अनुभवका आधारमा सामाजिक जीवनमा नयाँ योगदानतर्फ अघि बढ्नेछन्। उनले भने, जो सदस्यहरू जाँदैछन्, वहाँहरूलाई म भन्न चाहन्छु कि राजनीतिमा फुल स्टप हुँदैन। भविष्यले तपाईहरूलाई पर्खिरहेको छ र तपाईहरूको अनुभव राष्ट्रिय जीवनमा सधैं उपयोगी रहनेछ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले एचडी देवगौडा, मल्लिकार्जुन खरगे र शरद पवार आदि वरिष्ठ नेताहरूको योगदानको विशेष उल्लेख गर्दै भने, लामो संसदीय अनुभव भएका नेताहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न आवश्यक छ। उनले भने, यी नेताहरूले आफ्नो जीवनको ठूलो हिस्सा संसदीय प्रक्रियालाई समर्पित गरेका छन् र उनीहरूको अनुभव लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ।प्रधानमन्त्रीले राज्यसभा उपसभापति हरिवंशको प्रशंसा गर्दै उनलाई मृदुभाषी र कुशल सञ्चालक बताए। उनले भने, सदनलाई सुचारु रूपमा चलाउन उनीहरूको भूमिका प्रशंसनीय छ। साथै उनले यो पनि उल्लेख गरे कि हरिवंश सदन बाहिर पनि युवाहरूबीच सक्रिय रहन्छन् र उनीहरूलाई देशको अवस्थाबारे अवगत गराउने काम गर्छन्।

यस क्रममा प्रधानमन्त्रीले रामदास अठावलेको हास्यपूर्ण र व्यंग्यात्मक शैलीको पनि उल्लेख गरे। उनले भने, वर्तमान समयमा २४x७ सञ्चारमाध्यमका कारण सदनमा हास्य-विनोदका अवसरहरू कम भएका छन्, तर अठावलेले आफ्नो शैलीबाट वातावरणलाई सहज बनाइराख्छन् र मानिसहरूलाई जोड्ने काम गर्छन्।

प्रधानमन्त्रीले संसदीय प्रणालीमा “सेकेन्ड ओपिनियन” को अवधारणालाई लोकतन्त्रको ठूलो शक्ति बताए। उनले भने, एक सदनमा लिइएको निर्णय अर्को सदनमा विचारका लागि जान्छ, जसले निर्णय प्रक्रियालाई थप समृद्ध र व्यापक बनाउँछ। यो व्यवस्था लोकतान्त्रिक सन्तुलन कायम राख्न सहयोगी हुन्छ।

उनले भने, प्रत्येक दुई वर्षमा राज्यसभाको ठूलो समूहको कार्यकाल समाप्त हुन्छ, तर यो प्रक्रिया निरन्तर चलिरहन्छ। नयाँ सदस्यहरूलाई पुराना सदस्यहरूको अनुभवको लाभ मिल्छ, जसले सदनको कार्यप्रणालीमा निरन्तरता कायम रहन्छ। प्रधानमन्त्रीले विश्वास व्यक्त गर्दै सदनमा बाँकी रहने सदस्यहरूले नयाँ सांसदहरूलाई मार्गदर्शन गर्नेछन् र संस्थालाई थप मजबुत बनाउने छन् भनी बताए।

प्रधानमन्त्रीले यो पनि उल्लेख गरे कि बिदाई लिइरहेका धेरै सांसदहरूलाई पुरानो र नयाँ दुवै संसद भवनमा काम गर्ने अवसर प्राप्त भयो, जुन उनीहरूको सार्वजनिक जीवनको विशेष उपलब्धि र स्मरणीय अनुभव रहनेछ। उनले भने, नयाँ संसद भवनको निर्माण र यसको कार्यप्रणालीमा सहभागिता यी सदस्यहरूका लागि महत्वपूर्ण स्मृति बन्नेछ।

आफ्नो सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले भने, संसदमा बिताएको छ वर्ष कुनै पनि सदस्यको जीवनलाई गढ्न महत्वपूर्ण भूमिका खेल्छ। यो केवल निर्णय प्रक्रियाको हिस्सा बन्ने अवसर मात्र होइन, व्यक्तिगत विकास र राष्ट्रिय दृष्टिकोणलाई व्यापक बनाउने माध्यम पनि हो।उनले बिदाई लिइरहेका सबै सांसदहरूलाई शुभकामना दिँदै भने, उनीहरूको अनुभव राष्ट्र निर्माणमा थप पनि उपयोगी रहनेछ, चाहे उनीहरू कुनै पनि भूमिकामा किन नहोऊन्। प्रधानमन्त्रीले सबै सदस्यहरूको योगदानको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद दिए र उनीहरूको उज्ज्वल भविष्यको कामना गरे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande