शिक्षा विभाग र भारती एयरटेल फाउन्डेशनबीच एमओयूमा हस्ताक्षर
शिक्षा विभाग र भारती एयरटेल फाउन्डेशनबीच एमओयूमा हस्ताक्षर


- विद्यार्थीहरूका लागि समग्र, समावेशी र दिगो सिकाई वातावरण प्रवर्द्धन गर्ने लक्ष्य

गान्तोक, 18 मार्च (हि.स.)। राज्य शिक्षा विभागका मन्त्री राजु बस्नेतले आज राजधानीको टाशीलिङ सचिवालयमा शिक्षा विभागका अधिकारीहरू र भारती एयरटेल फाउन्डेशनका प्रतिनिधिहरूबीच आयोजित एक बैठकको अध्यक्षता गरे। बैठकमा शिक्षा विभागका प्रधान सचिव डा. सन्दीप ताम्बे, सचिव टाशी छोपेल र शिक्षा विभागका अतिरिक्त निर्देशक अनुग्रह राई तथा भारती एयरटेल फाउन्डेशनका कार्यक्रम सञ्चालन प्रमुख समीर शाह र उपमहाप्रबन्धक शशी प्रकाश उपस्थित थिए।

बैठकमा भारती एयरटेल फाउन्डेशनका प्रतिनिधिहरूले देशका विभिन्न राज्यहरूमा बालबालिकाका लागि समग्र, समावेशी र दिगो सिकाई वातावरण प्रवर्द्धन गर्न फाउन्डेशनले सञ्चालन गरेको गुणस्तर समर्थन कार्यक्रमबारे विशिष्ट जानकारी गराए। यसपछि शिक्षा विभाग, सिक्किम सरकार र भारती एयरटेल फाउन्डेशनबीच एमओयूमा हस्ताक्षर भयो। शिक्षा मन्त्री र प्रधान सचिवको उपस्थितिमा टाशी छोपेल र समीर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी शिक्षा विभागले आज प्रेस बयानमा दिएको छ।

एमओयू अन्तर्गत भारती एयरटेल फाउन्डेशनले आफ्नो गुणस्तर समर्थन कार्यक्रम मार्फत विद्यार्थीहरूको जीवन सीप सुदृढीकरण, शिक्षक संलग्नता बढाउने तथा सह-शैक्षिक र क्षमता-निर्माण हस्तक्षेपहरू मार्फत विद्यालय प्रक्रियाहरू सुधार गर्ने कुरामा ध्यान केन्द्रित गर्नेछ। यो पहल पाकिम जिल्लाको रिनाक र नाम्चेबुङ निर्वाचन क्षेत्रका दुई ब्लकका सरकारी विद्यालयहरूमा ध्वजवाहक कार्यक्रमका आधारमा लागू गरिनेछ।

मन्त्री बस्नेतले विद्यालय पूर्वाधार सुधार गर्ने, शिक्षकहरूलाई सशक्त बनाउने र राष्ट्रिय शिक्षा नीति २०२० को कार्यान्वयनलाई अगाडि बढाउने कुरामा जोड दिए। उनले फाउन्डेशनको शिक्षक र विद्यार्थी-केन्द्रित दृष्टिकोण आनन्ददायी, विद्यार्थी-केन्द्रित कक्षा कोठाहरू सिर्जना गर्ने राज्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको उल्लेख गरे र दीर्घकालीन प्रभावका लागि यस्ता अभ्यासहरूलाई संस्थागत गर्ने सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गरे।

भारती एयरटेल फाउन्डेशनका कार्यक्रम सञ्चालन प्रमुख समीर शाहले भारतको शिक्षा पारिस्थितिक प्रणालीलाई सुदृढ पार्ने फाउन्डेशनको प्रतिबद्धता दोहोर्‍याए। यो साझेदारीले शिक्षा प्रणालीलाई सुदृढ पार्न र बालबालिकाको लागि अर्थपूर्ण, दीर्घकालीन परिणामहरू सुनिश्चित गर्न सिक्किम सरकार र भारती एयरटेल फाउन्डेशनबीचको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande