
खरसाङ, 19 मार्च (हि.स.)। भारतीय जनता पार्टीको तर्फबाट यसपालीको विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिमा सोनाम लामालाई टिकट दिएपछि खरसाङको पार्टी कार्यालयमा पार्टी कार्यकर्ताहरुले खुशी साथ सोनाम लामालाई स्वागत जनाउँदै खदामाला गरेका छन्। पार्टी कार्यकर्ताहरुले आफ्नै पार्टीका दार्जिलिङ जिल्ला महासचिव एवं खरसाङ निवासी सोनाम लामालाई नै टिकट दिएपछि खुशीसाथ स्वीकार गरेको देखिएको छ।
पार्टी कार्यकर्ताहरुले स्वागत जनाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै पार्टीले दिएको दायित्वप्रति लामाले खुशी व्यक्त गरे। उनले पहाडमा भाजपालाई सजिलो छैन, तर यदि कसैले इमान्दारीपूर्वक काम गर्छ भने पार्टीले मौका दिने रहेछ भनी बताए। उनले भने, खरसाङको जनताले पहिले पनि भाजपालाई जिताएको हो। तर, नमिठो अनुभव भयो। त्यसताक प्रार्थी नहेरेर भाजपा पार्टीलाई हेरेर जिताएको हो। यसपालीको जीत मेरो होइन तपाईहरुको जीत हुनेछ। म हजुरहरुले सोचेकोभन्दा दोब्बर तरिकाले काम गर्नेछु।'
हिन्दुस्थान समाचार / हनोक