
दार्जिलिङ, 02 मार्च (हि.स.)। हिल तराई डुवर्स प्लान्टेसन लेबर युनियनका अध्यक्ष जेबी तामाङले आज एक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण चिया बगानका श्रमिकहरूका लागि सामग्रीहरुको मूल्य दरमा वृद्धि गर्न माग गरेका छन्।
उनले चिया बगानमा कार्यरत् श्रमिकहरूलाई चप्पल, टोकरी, दाउरा र छुरी जस्ता अत्यावश्यक सामग्रीका लागि दिइँदै आएको सुविधा पर्याप्त नभएकाले त्यसलाई बढाइनु आवश्यक रहेको बताए। यस सम्बन्धमा युनियनले सम्बन्धित विभागलाई औपचारिक प्रचार गरेको पनि जानकारी दिए।
हिल तराई डुवर्स प्लान्टेसन लेबर युनियनले डीटीए र आइटीएलाई पत्रचार गरी श्रमिकहरूको आधारभूत आवश्यकतामा सुधार गर्न माग गरेको जनाएको छ। अध्यक्ष तामाङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन सधैं चिया बगान श्रमिकहरूको हक–हितका लागि प्रतिबद्ध रहेको बताउँदै हामी केवल भाषणमा सीमित हुँदैनौं तर व्यावहारिक कार्यमा विश्वास गर्छौं भनी बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक