अमर लामाको पक्षमा खरसाङमा चुनाउ कार्यालय उद्घाटन
अनित थापा


- सबैले आफ्नो आफ्नो बुथ जिताउनु पर्छ: अनित थापा

खरसाङ, 20 मार्च (हि.स.)। आगामी विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवार अमर लामाको पक्षमा शुक्रबार खरसाङ बजारको हिल कार्ट रोडमा चुनाउ पार्टी कार्यालय उद्घाटन गरिएको छ। उक्त कार्यालयको उद्घाटन पार्टीको केन्द्रिय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख कार्यपाल अनित थापाको विशेष उपस्थितिमा उम्मेदवार लामाको बाहुलीद्वारा गरियो।

उक्त चुनावी कार्यालय उद्घाटन गरिएपछि एउटा सांगठनिक सभा सम्पन्न भयो। चुनावी सभालाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले पार्टी कार्यकर्ताहरुलाई चुनाउको माहोलमा डिमाण्ड होइन, तर मानिसहरुलाई बुझाउनुपर्छ र यतिबेला पनि नाली झोडा भन्नु हुँदैन भनी बताए। उनले सबै मिलेर खरसाङ, दार्जिलिङ र कालेबुङलाई जिताउनुपर्छ भनी आह्वान गरे।

उनले भने, 'अब हामी जोडतोडले लागेर अघि बढ्नुपर्छ। हामीले उम्मेदवार भनेको जस्तै पाएका छौँ।' उनले पार्टी उम्मेदवारहरूको जीत निश्चित रहे तापनि काम गर्नु जरुरी रहेको बताए। उनले खरसाङ र कालेबुङ विधानसभा समष्टिमा पार्टीका उम्मेदवारहरूले 31 मार्चमा अनि दार्जिलिङमा 1 मईको दिन नामांकन पत्र बुझाउने जानकारी गराए।

सभालाई भागोप्रमोको उम्मेद्वार अमर लामाले सम्बोधन गर्दै चुनाउमा प्रतिद्वन्द्विता कुनै व्यक्ति विशेषसित होइन, तर कुनै पनि पार्टीको नीति विरुद्ध हो भनी बताए। उनले कसैलाई पनि व्यक्तिगत आक्षेप लगाएर नबोल्न अनुरोध गरे। चुनाउ कार्यालयमा आफु बिहान र बेलुका बसेर जनतालाई भेट्ने पनि लामाले बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande