
खरसाङ, 21 मार्च (हि.स.)। खरसाङस्थित पार्टी कार्यालयमा आज भारतीय जनता पार्टी (भाजपा) खरसाङका सबै १५ वटा मण्डलका अध्यक्षहरू तथा प्रतिनिधिहरूको एक महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा खरसाङ विधानसभा समष्टिको लागि पार्टीका उम्मेदवार सोनाम लामालाई स्वागत गर्दै सफलताको शुभकामना व्यक्त गरियो।
उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरूले उनीप्रति पूर्ण समर्थन जनाउँदै आगामी चुनाउमा निश्चित रूपमा उनले विजय हासिल गर्ने विश्वास व्यक्त गरे। यस पटक पार्टीले स्थानीय भूमिपुत्र तथा पार्टीकै समर्पित कार्यकर्तालाई उम्मेदवार बनाएकोमा गर्व व्यक्त गरे।
मण्डल अध्यक्षहरूले दृढताका साथ भने, यस पटक पश्चिम बंगालमा भाजपा सरकार गठन हुनेमा उनीहरू पूर्ण विश्वस्त छन्। साथै गोर्खा समुदायले आफ्नो अधिकार र न्याय पाउने विश्वासका साथै उनीहरूले यो चुनाउमा ऐतिहासिक जित हासिल गर्ने प्रतिबद्धता जनाए।
हिन्दुस्थान समाचार / हनोक