दार्जिलिङ पहाडी क्षेत्रमा गडेला पालन सम्बन्धी तालिम सम्पन्न
दार्जिलिङ पहाडी क्षेत्रमा गडेला पालन सम्बन्धी तालिम सम्पन्न


खरसाङ, 21 मार्च (हि.स.)। कोलकाता विश्वविद्यालयको ज्युलोजी विभागको आयोजनामा तथा साथी भाई केयर फाउण्डेशनको सहकार्यमा 'दार्जिलिङ पहाडी क्षेत्रमा हिल स्ट्रीम लोच (गडेला) पालन सम्बन्धी तालिम' कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। उक्त तालिम बुङकुलुङ हनी एण्ड अग्रो प्रोसेसिङ को-ओपरेटिभ सोसाइटी लिमिटेडको भवनमा आयोजना गरियो।

कार्यक्रमलाई नेशनल मिशन अन हिमालयन स्टडिजको समेत सहयोग प्राप्त भएको थियो। कार्यक्रममा डा राकेस तामाङ, डा सुमन भुषण चक्रवर्ती लगायत प्राविधिक टोलीको उपस्थिति रहेको थियो। कार्यक्रममा बिजनबारी कालेबुङ, खरसाङ, लालमाटी, मिरिक (मन्जु), अम्बटे लगायत विभिन्न क्षेत्रबाट सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस तालिमको मुख्य उद्देश्य पहाडी क्षेत्रमा पाइने हिल स्ट्रीम लोच (गडेला) माछाको संरक्षण, व्यावसायिक पालन प्रवर्द्धन तथा स्थानीय स्तरमा आयआर्जनका अवसरहरू सिर्जना गर्नु रहेको आयोजकहरूले बताए। तालिमका क्रममा सहभागीहरूलाई आधुनिक प्रविधि, पालन विधि तथा व्यवस्थापन सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरियो।

कार्यक्रमले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन तथा वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande