
सोनादा, 21 मार्च (हि.स.)। सोनादाको होलीक्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आज सेफ ड्राइभ सेभ लाइभ कार्यक्रम आयोजना गरियो। उक्त सचेतना कार्यक्रम सोनादा ट्राफिक पुलिस र सोनादा पुलिस आउट पोस्टको संयुक्त आयोजनामा गरियो।
कार्यक्रममा ड्रग्स सचेतना, साइबर क्राइम, बाल विवाह आदि जस्ता विषयहरूमा सचेत गराइयो। सोनादा ट्राफिक पुलिस प्रभारी सबीन दर्नालले आफ्नो सम्बोधनमा सेफ ड्राइभ सेभ लाइभ विषयमा र ट्राफिक नियमहरु विषयमा सचेत गराए। यसरी नै बाल विवाह विषयमा एलएसआई पुनम राईले सचेत गराएकी थिइन्।
कार्यक्रममा सोनादा पुलिस आउट पोस्टका प्रभारी विवेक छेत्रीले साइबर सुरक्षा विषयमा सचेत गराएका थिए। कार्यक्रममा ड्रग्स प्रयोगको खतरा र यसको रोकथाम विषयमा अतिथि स्रोत व्यक्ताको रुपमा सिलगढीबाट आएका रेवन थापाले विद्यार्थीहरुलाई सजग गराए। यस कार्यक्रममा शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरु र स्थानीयहरु उपस्थित रहेका थिए।
कार्यक्रममा डकुमेन्ट्री भिडियो पनि प्रदर्शन गरियो। यो कार्यक्रम दुईवटा सत्रमा आयोजना गरिएको थियो। यस अन्तर्गत आठौँ, नवौं र दशौं श्रेणीसम्मका विद्यार्थीहरु, अभिभावकहरु अनि दोस्रो सत्रमा पाँचौं, छैटौँ र सातौँ श्रेणीसम्मको विद्यार्थीहरु र अभिभावकहरूलाई लिएर आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुलाई लिएर अन्तरक्रियात्मक सत्र पनि राखिएको थियो।
हिन्दुस्थान समाचार / हनोक