बंगालमा शुक्रवारदेखि हावा-हुन्डरी अलर्ट
बंगालमा शुक्रवारदेखि हावा-हुन्डरी अलर्ट


कोलकाता, 25 मार्च (हि.स.)। बसन्तको प्रभाव सिद्धिनसाथ फेरि एकपटक पश्चिम बंगालको मौसम फेरिन गइरहेको छ। मौसम विभागले आगामी शुक्रवारदेखि राज्यमा हावा-हुन्डरी तथा वर्षा हुने सम्भावना व्यक्त गरेको छ। कोलकाता समेत दक्षिण बंगालका धेरैवटा जिल्लाहरूमा कालबैसाखीसितै तीव्र हावा र असिना पानी आउनसक्छ।

मौसम विभाग अनुसार बुधवार र बिहिवार उत्तर एवं दक्षिण बंगालमा वर्षा हुने सम्भावना कम भएपनि सप्ताहन्तमा मौसमको स्वरूप फेरिनेछ। त्यसैले सतर्क रहने अनि आवश्यक सतर्कता अप्नाउने सल्लाह दिइएको छ।

बुधवार बिहान शहरमा आंशिक बादल लागेको छ। दिन बढ़्दै गएपछि मौसम स्पष्ट हुने सम्भावना छ। न्यूनतम तापमान 24.6 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 0.5 डिग्री अधिक हो। अधिकतम तापमान 31.9 डिग्री सेल्सियस रहने अनुमान छ जुन सामान्यभन्दा 2.8 डिग्री कम हो। आगामी शुक्रवारदेखि आइतवारसम्म शहरमा हुरी-बताससितै पानी पर्नसक्छ।

दक्षिण बंगालमा तापमान बिस्तारै बढ़िरहेको छ साथै बिहान हल्का कुहिरो लागिरहेको छ। तटी क्षेत्रहरूमा रहेको अधिक आद्रताको कारणले यसको प्रभाव रहनेछ। मौसम विभागले आगामी शुक्रवार अनि शनिवार सबै जिल्लाहरूमा तूफानी वर्षा हुने चेताउनी दिएको छ। पुरुलिया, बाँकुड़ा, झाड़ग्राम, पश्चिम मेदिनीपुर तथा पूर्व बर्धमानका केही भागहरूमा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। केही स्थानहरूमा असिना पानी पनि पर्नसक्छ।

उत्तर बंगालका माथिल्लो जिल्लाहरूमा बुधवार मौसमको स्थिति प्रतिकूल रहनेछ। यहाँ वर्षा, तीव्र हावा तथा असिना पानी पर्ने सम्भावना व्यक्त गरिएको छ। तथापि साँझपछि मौसममा केही सुधार आउनसक्छ। बिहीवार वर्षा कम हुने सम्भावना भए पनि शुक्रवारदेखि फैरि मौसम प्रतिकूल हुने संकेत छ।

मौसम विभागले सप्ताहान्तमा राज्यभरि नै मौसम प्रतिकूल रहने सम्भावनालाई ध्यानमा राख्दै मानिसहरूलाई सतर्क रहने सल्लाह दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande