
मेदिनीपुर, 25 मार्च (हि. स.)। विधानसभा चुनाउपूर्व मेदिनीपुरको नन्दीग्राममा बुधवार दुई प्रमुख राजनीतिक पार्टिहरूका दिग्गज नेताहरूको सभालाई लिएर माहोल तातिएको छ। अभिषेक ब्यानर्जी र शुभेन्दु अधिकारीले एकै दिन भिन्न-भिन्न स्थानमा जनसभा गरिरहेका छन्। यसलाई मध्यनजर गर्दै प्रशासनले क्षेत्रमा अभूतपूर्व सुरक्षा व्यवस्था गरेको छ।
गए मंगलवारदेखि नै नन्दीग्रामका विभिन्न प्रवेश मार्गहरूमा नाका चेकिङ शुरू गरिएको थियो। सभास्थलहरूलाई सीसीटीभीको निगरानीमा राखिएको छ। कुनै पनि अप्रिय स्थितिको सामना गर्नको लागि पुलिस तथा प्रशासन पूर्ण रूपले सतर्क छन्।
तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले नन्दीग्राम ब्लक-2 को बिरुलियास्थित घोलपुकुर बजारको छेउमा आयोजित कार्यकर्ता सभालाई सम्बोधन गर्नेछन्। पहिला यो सभा नन्दीग्राम ब्लक-1 को एसबीआई मैदानमा प्रस्तावित थियो जसलाई पछि परिवर्तन गरिएको हो। सभाको लागि व्यापक रूमा तयारी गरिएको छ जसमा हजारौं मानिसहरूको निम्ति बस्ने व्यवस्था तथा विशाल मञ्चको निर्माण सामेल छन्।
पार्टी सूत्र अनुसार नन्दीग्रामका 286 वटा बूथहरूबाट कार्यकर्ताहरूलाई सामेल हुने निर्देश दिइएको छ। सभास्थलको छेउमा एउटा अस्थायी हेलिप्याड पनि बनाइएको छ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, नन्दीग्राम ब्लक-1 मा तृणमूको मजबुत गढ़ छ भने नन्दीग्राम ब्लक-2 मा भाजपाको प्रभाव अपेक्षाकृत अधिक छ। त्यसैले तृणमूल नेतृत्वले यस क्षेत्रलाई सभाको लागि चुनेका हुन् ताकि कार्यकर्ताहरूको मनोबल बढ़ाउन सकियोस्।
अर्कोतिर भाजपा उम्मेद्वार शुभेन्दु अधिकारीले नन्दीग्रामको रेयापाड़ामा पार्टी कार्यकर्ताहरूसित बैठक गर्नेछन्। यस अवधि बूथ स्तरका कार्यकर्ताहरूलाई चुनावी रणनीति तथा आवश्यक दिशानिर्देश दिइनेछ। पार्टी नेताहरूको दाबी छ, यसपालि उनीहरूले व्यापक अन्तरमा जीत दर्ता गराउनेछन्।
दुवै पार्टीका यी हाई-प्रोफाइल सभाहरूको कारणले नन्दीग्राममा राजनीतिक हावा तातिएर चरममा पुगेको छ भने प्रशासनले सम्पूर्ण स्थितिमाथि नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा