
गान्तोक, 25 मार्च (हि.स.)। आगामी अप्रेल महिनादेखि जनगणना 2027 शुरू हुने भएको छ। जनगणना दुई चरणमा गरिने छन्। पहिलो चरण 16 अप्रेलदेखि 15 मई, 2026 सम्म चल्नेछ। पहिलो चरणमा घर सूचीकरण र आवास गणना हुनेछ। दोस्रो चरण फरवरी 2027 मा हुनेछ, जसमा जनसंख्या गणना सम्पन्न गरिने छ।
उक्त जानकारी सिक्किमका जनगणना सञ्चालन निर्देशक कर्मा बोन्पोले आज टाशीलिङ सचिवालयको सम्मेलन हलमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
भारत सरकारले 1 मार्च, 2027 को सन्दर्भ मितिसहित जनगणना २०२७ घोषणा गरेको उनले बताए। यो जनगणना भारतमा १६औं र सिक्किम विलय पछिको पाँचौं जनगणना रहेको पनि उनले जानकारी गराए। उनले जनगणना दुई चरणमा गरिने कुरा स्पष्ट पार्दै पहिलो चरण (घर सूचीकरण र आवास जनगणना) 16 अप्रेलदेखि 15 मई, 2026 सम्म र दोस्रो चरण (जनसंख्या गणना) फरवरी 2027 मा हुने अवगत गराए।
निर्देशक बोन्पोले जनगणना डिजिटल रूपमा हुने र भारत सरकारले 1 देखि 15 अप्रेल, 2026 सम्म नागरिकहरूले आफैंले जानकारी प्रदान गर्न सक्ने स्व-गणना पोर्टल (se.census.gov.in) शुरु गरेको जानकारी गराए। उनले नीति निर्माण, लोकतान्त्रिक प्रतिनिधित्व र शोधका लागि सही तथ्याङ्कको महत्त्वलाई जोड दिँदै नागरिकहरूलाई यो 15 दिने अवधिमा भाग लिन अपील गरे।
उनले जनगणना तथ्याङ्क गोप्य रहने विश्वास दिलाउॅंदै यो जनगणना ऐन १९४८ अन्तर्गत सुरक्षित रहनेछ र केवल तथ्याङ्कीय उद्देश्यका लागि प्रयोग गरिने बताए। उनले नागरिकहरूलाई सबैको गणना सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरे, ताकि सही तथ्याङ्कले राज्य र राष्ट्र दुवैको विकासलाई सहयोग गर्न सकोस्।
यसरी नै गृह सचिव तथा सिक्किमको जनगणनाका लागि राज्य नोडल अधिकारी तेन्जिङ टी. काल्योनले जनगणना सम्बन्धी जारी तयारीको बारेमा जानकारी गराए। उनले मुख्य सचिवको नेतृत्वमा राज्यस्तरीय समन्वय बैठकको पहिलो चरण सम्पन्न भएको बताए। बैठकमा नागरिकहरूबाट भरपर्दो, सही र पूर्ण जानकारी सङ्कलन गर्ने कुरामा जोड दिइएको थियो। उनले मुख्य सचिव र केन्द्रिय गृह सचिव दुवैले नागरिकहरूलाई गणनाकर्ताहरूलाई सही जानकारी प्रदान गरेर जनगणनामा सक्रिय रूपमा भाग लिन अपील गरेको बताए।
काल्योनले समय बचत गर्न नागरिकहरूलाई यसको प्रयोग गर्न आग्रह गर्दै स्व-गणना विकल्पमा जोड दिए। उनले यो विशेष गरी काम गर्ने व्यक्तिहरूको लागि उपयोगी रहेको बताए, जो गणनाकर्ताहरू घरमा आउँदा उपलब्ध नहुन सक्छन्। उनले स्व-गणनाले एक अद्वितीय आईडी उत्पन्न हुने बताए, जसले गणनाकर्ताहरूलाई डेटा प्रमाणित सजिलो बनाउने छ। उनले लगभग २,४५९ गणक र पर्यवेक्षकहरू फिल्डमा तैनाथ रहने जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल